सिन्धुपाल्चोक जलबिरेका ८६ वर्षीय मेहरमान खड्का अस्ट्रेलियामा रहेका डाक्टर छोराको प्रतीक्षामा पशुपति वृद्धाश्रममा टोलाइरहेका छन् । सन्तान र आफन्तले बेवास्ता गरेपछि उनको वाध्यताको बसाइँ बनेको हो, वृद्धाश्रम ।
'दुई भाइ छोरामध्ये जेठो छोरा भारतमा ठूलो व्यापारी छ, उसले मलाई कुनै वास्ता गरेन, कान्छो छोरो अस्ट्रेलियामा छ, उसले पनि मलाई हेला गरेर आफ्नी आमालाई मात्र लिएर गयो' मेहरमानले गुनासो गरे । उनले थपे– सन्तानले छोडे पनि सँगै जिउने मर्ने कसम खाएकी श्रीमतीले समेत दुःखका बेला छाडेर छोराकै पछि गई ।
बुढेसकालमा छोरा, बुहारी र नातिनातिना वा आफन्तको सहारा पाइयोस् भन्ने सबै बाबुआमाको चाहना हुन्छ । तर, आफ्नो मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामाथि भनेजस्तो सन्तान निष्ठूरी भएपछि कसैको केही लाग्दैन । बदलिँदो जीवनशैली, वैदेशिक रोजगारीमा जाने क्रम बढेको र अन्य कारणले हेलामा परेर वृद्धाश्रम बस्ने क्रम बढेको छ । तीनै मध्येका एक हुन् पशुपतिमा टोलाएर बस्ने मेहरमान ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयअन्तर्गतको समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका २ सय ३० वृद्धवृद्धा छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत र क्यानाडालगायतका मुलुकमा विदेशिएका सन्तानका वृद्ध आमाबुबा यो आश्रममा जीवनको अन्तिम दिनहरू गुजार्दैछन् ।
पशुपति वृद्धाश्रममा २०६७ सालदेखि बस्दै आएका ललितपुर ठूला दुर्लुङका ७७ वर्षीय भीमनाथ दुलाल र सात वर्षदेखि बस्दै आएका दाङ पञ्चकुलेका कुलबहादुर खत्रीको पनि मेहरमानको भन्दा फरक छैन पीडा । ढल्कँदो उमेरमा स्मृतिमा बेलाबेला देखापर्ने सम्झना र सुख दुःखका कुराहरू साटासाट गर्दै यो आश्रमका वृद्धवृद्धाको दिनचर्या बित्छ ।
बुढेसकालमा बिहान बेलुका दुई छाक टार्न अर्काको घरमा काम गर्न बस्नुभएकी फूलकुमारी तामाङको ६१ वर्षमा शिरको सिउँदो पुछियो । बाँकी एकमात्र सन्तानका रुपमा छोरा रविनलाई दुःखजिलो गरेर हुर्काएर अध्ययनका लागि जापान पठाए।
तर, जापानबाट आएपछि रविनले आमालाई वास्ता गरेनन् । नचिनेझैँ गरी बोल्दासमेत बोलेनन् । छोरालाई भनेर उनले रातदिन दुःख गरेको रविनले चटक्कै बिर्से । 'विदेशबाट आएपछि अहिले उसले मलाई नै चिन्दैन बोल्दैन । बरु यस्तो सन्तान हुनुभन्दा त बाँझै बस्नु बेस' गहभरि आँसु पार्दै फूलकुमारीले भनिन् ।
पछिल्लो जनगणनाअनुसार करिब २६ लाख ज्येष्ठ नागरिक छन् । सन्तानले नै बेवास्ता गरेपछि सक्नेहरू अधिकारका लागि सडकमा सङ्घर्ष गरिरहेका छन् । नसक्नेहरू वृद्धाश्रमहरू खोजिरहेका छन् । सडकमा मगन्ते जीवन जिउन बाध्य छन् ।
काठमाडाँैमा दुई वर्षदेखि विभिन्न माग राखेर दैनिकजसो धर्ना बस्दै आएका वृद्धवृद्धाको मागको सरकारले अझै सम्बोधन गरेको छैन । बुढेसकालको जीवनयापन सहज गराउन ज्येष्ठ नागरिक संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा मीनभवनस्थित सडकमा धर्ना बस्दाबस्दै करिब दुई दर्जनको निधन भइसकेको छ ।
धर्नामा बसेका ज्येष्ठ नागरिकले सर्वोच्च अदालतले जारी गरेको परमादेशको आदेश लागू गर्नुपर्नेलगायतका माग तत्काल पूरा नगरिए सडकमै आत्मदाह गर्नेसम्मका चेतावनी दिँदै आएका छन् ।
संयुक्त परिवारको संस्कृतिमा निर्माण भएको नेपाली समाजमा पछिल्लोपटक एकल परिवारको संस्कृतिले प्रश्रय पाइरहेको भन्दै पैतृक सम्पत्तिमा छोराछोरीको हक दाबी नलाग्ने, बाबुआमा जीवित रहुन्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाका विरुद्धमा सन्तानले कुनै बहानामा उजुरी गर्न नपाइने कानुनी व्यवस्था गर्नुपर्नेसमेत ज्येष्ठ नागरिकले माग गर्दै आएका छन् ।
देशभर ९० वटा वृद्धाश्रम छन् । उपत्यकामा मात्रै २५ वटा छन् । धेरैजसो वृद्धाश्रम ज्येष्ठ नागरिकमैत्री देखिँदैनन् । समाज कल्याण केन्द्र वृद्धाश्रमका कार्यालय प्रमुख मनोजकुमार बस्नेतका अनुसार हाल वृद्धवृद्धा रहेको भवन संरचना ज्येष्ठ नागरिकमैत्री नभएको हुँदा नयाँ भवनमा सार्ने छलफल भइरहेको छ। मन्त्रालयले वृद्धाश्रमका लागि मात्र वार्षिक रु एक करोड ३९ लाख बजेट छुट्याएको छ । वृद्धाश्रममा रहेका २३० वृद्धवृद्धामध्ये १०६ वृद्ध र १२४ वृद्धा रहेका छन् ।
समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति १९३८ सालमा स्थापना गरिएको सरकारद्वारा सञ्चालित एकमात्र वृद्धाश्रम हो । राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाका रुपमा स्थापना भई सञ्चालनमा आएको वृद्धाश्रम २०३४ सालदेखि समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिको नाममा सञ्चालित हुँदै आएको छ ।
वृद्धाश्रमले वृद्धवृद्धाका लागि लालनपालन, आवास, औषधि उपचार तथा दाह संस्कारलगायतको व्यवस्थासमेत गर्दै आएको छ । रासस