भारतीय जीवन र इतिहासका साक्षी एवं दैनिक पाठकहरूलाई हाँस्य र व्यंग्यले भरिएका कार्टुन कोर्दै आएका प्रतिभाशाली कार्टुनिष्ट आरके लक्ष्मणको निधन भएको छ।
भारतका यी प्रतिष्ठित कार्टुनिष्टको सोमबार साँझ पुनेस्थित दिनानाथ मंगेस्कर हस्पिटतमा निधन भएको हो। उनलाई केही दिनदेखि मेसिनको सहयोगमा राखिएको थियो। उनी ९३ वर्षका थिए।
मैसोरमा सन् १९२१ मा जन्मिएका लक्ष्मणले कार्टुन चित्रसम्बन्धी कुनै औपचारिक तालिम लिएका थिएन्। सुरुमा उनले स्थानीय पत्रिकामा चित्र कोर्न र उनका प्रशिद्ध दाजु उपन्यासकार आरके नारायणका किताबका निम्ति रेखांकन गर्ने गरेका थिए।
उनी सन् १९४७ मा टाइम्स ग्रुपमा आवद्ध भएपछि जीवन पर्यन्त त्यही रहे। उनले प्रत्येक दिन उच्च कोटीका दुई कार्टुन बनाउने गरेका थिए। उनले आफ्नो कार्टुनमा आम आदमीको सिर्जना सन् १९५७ मा गरेका थिए, जसले भारतका सर्वसाधारण नागरिकको प्रतिनिधित्व गर्छ। उनको व्यंग्य जहिल्यै मनोरञ्जनपूर्ण रह्यो।
सन् २००३ मा उनलाई मुटु रोगले आक्रमण गरेपछि शरीरको देब्रेतिर प्यारालाइसिस भए पनि उनले २०१० सम्म उनले टाइम्स अफ इन्डिया लगायतमा कार्टुन कोरिरहे। कमजोर स्वास्थ्यले उनलाई कार्टुन बनाउन रोक पनि अन्तिम समयसम्म उनले रेखाचित्र बनाउन छाडेनन्।
लक्षमण पछिल्ला केही वर्ष पुनेमा रहे। केही दिन अघि उनलाई घाँटीमा संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। मल्टीपल अर्गान फेलियरपछि उनको निधन भएको हो।