रक्तदान गर्दै विद्यार्थीहरु। तस्विरः सेतोपाटी
केही अपवादबाहेक बिहान उठेदेखि उनको फोनका घण्टीहरु बढीजसो 'रगत' सँगै जोडिन्छन्। र, उनी पनि। बिपीकेआइएचएस स्टुण्डेन्टस् ब्लड डोनेसन कमिटीका २०१४–१५ का अध्यक्ष भएकैले सत्यम महजू बढीजसो रगतमा जोडिएका हुन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकतर विद्यार्थीहरु कहिलेकाही पढाई भन्दा बढी रगत दानमा व्यस्त बन्छन्। आकस्मिक र ताजा रगत चाहिने बिरामीहरुप्रति उनीहरुको बढी झुकाव हुन्छ। त्यसमा पनि बढीभन्दा बढी गरिब तथा निमुखाहरुको लागि उनीहरुको ध्यान जाने गरेको छ। 'हाम्रो लक्ष्य रगत जम्मा गर्नै नसक्नेहरुप्रति बढी लक्षित हुन्छ।' महजू भन्छन्।
बिरामीलाई कतिखेर, कहिले चाहिएको हो त्यो पत्ता लगाउँदै उनीहरुले जुनसुकै समयमा पनि रगत दिन सक्छन्। 'तुरुन्तै नचाहिएमा कन्ट्याक्टमा रहन भन्छौं।' उनी भन्छन्। उनीहरुको यो सेवाले लाग्छ, प्रतिष्ठानमा आउने बिरामीहरुको ज्यान बचाउने जिम्मा उनीहरुकै हो। ९० दिनपछि निस्त्रि्कय भएर जाने रगतलाई प्रयोग गर्न विद्यार्थीहरुले धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागी गराउने गर्दछन्। एक विद्यार्थीले वर्षमा ४ पटकसम्म दिने गरेका छन्।
कमिटीमा ३५ जना छन्। उनीहरुको काम अन्यलाई पनि रगत दिनुपर्छ भन्दै आग्रह गर्ने हो। 'हाम्रा कमिटिका साथीहरुमार्फत अन्यलाई कन्भिन्स गराउने काम गर्छौ जसबाट धेरै भन्दा धेरै रगत दिन सकौं।' हालका सल्लाहकार एवं पूर्व अध्यक्ष रोहित कर्ण भन्छन्। यो कार्य गर्दै आएको सन् २००० देखि हो। एकदिनमा झण्डै रगतको लागि मात्रै सत्यमजस्ता सदस्यहरुले १० पल्ट भन्दा बढी फोन उठाउँछन्। वार्षिक रगतको लागि मात्रै ५ हजार बढी फोन आउने गरेको पूर्व अध्यक्ष अरुण भट्ट स्मरण गर्छन्।
कमिटीमा बस्ने सदस्यहरुलाई उनीहरुले अन्तरबार्ता लिँदै छनौट गर्ने गरेका छन्। अन्तरवार्तामा छनौट पूर्व विभिन्न प्रश्नहरु राखिन्छ। त्यो स्नात्तक तह पहिलो वर्षका सवै विभागका विद्यार्थीहरुलाई सहभागी हुन पाउँछन्। त्यो अन्तरवार्तामा पास भएकाहरुलाई मात्रै कमिटीको सदस्य प्रदान गरिने पूर्व अध्यक्ष कर्ण बताउँछन्। त्यहाँबाट छनौट भएका विद्यार्थीहरुले आफ्ना साथी तथा अन्यहरुलाई रगत दिनको लागि कन्भिन्स गरिन्छ। यसरी कमिटीले वार्षिक ५ सय बढी युनिट रगत बिरामीलाई दिने गरेका छन्।
'हामी पोटेन्सियल दाता भएकाले रिर्जभको लागि दिँदनौं। आकस्मिक चाहिएको छ भने मात्रै हामी त्यसका लागि तयार हुन्छौं।' अध्यक्ष महजू भन्छन्। कमिटीले रगत दान गरेकै कारण सरला कायस्थ रनिग सिल्डबाट तीनपटक अवार्डसमेत हात पारिसकेका छन्। यो सिल्ड सुनसरीमा बढी रक्तदान गर्ने संस्थालाई दिने अवार्ड हो। उनीहरुले निःशुल्क रुपमा रक्त समूहसमेत पत्ता लगाइदिने काम गर्छन्। जस्ले गर्दा रगत दिनु परेमा सहज होस्। रक्तदान गर्ने बढी भन्दा बढी छात्र विद्यार्थीहरु भए पनि करिव २ सयको हाराहारीमा छात्रा विद्यार्थीहरु हुने गर्दछन्।
उनीहरुले विभिन्न स्कुलहरुमासमेत कार्यक्रम गर्ने गरेका छन्। 'यो कार्यक्रम गर्नुको मूख्य उद्देश्य भनेको विद्यार्थीहरु रगतको लागि पोटेन्सीयल दाता हुन्।, कमिटीकी सचिव कत्यानी पाण्डे बताउँछिन्। कतिपयलाई रगत दिनको लागि डराउने गर्छन्। त्यस्ताहरुलाई रगत दिँदा केही पनि हुँदैन भनेर सचेत गराउँने गरेका छन्। उनीहरुले हालसम्म ताप्लेजुग, धनकुटा, झापालगायतका क्षेत्रमा गएर निःशुल्क कार्यक्रम तथा रक्त समूह पहिचान गरिदिने कामसमेत गर्दै आएका छन्।
बढीभन्दा बढी ग्रामिण क्षेत्रबाट आउने मानिसहरु रगत अभावको पीडाबाट गुजि्रने हुँदा उनीहरुको लागि २४ सै घण्टा हाजिर हुने गरेका छन्। अरुको जीवन बचाउनकै लागि डाक्टरी पढ्न आएका विद्यार्थी भएकाले किन अहिलेदेखि नै जीवन बचाउने काममा सक्रिय नबन्ने भन्दै कमिटी बनेको हो।