नेपालकै बहुचर्चित पुरातात्विक स्थल काँक्रेविहारको पुनःनिर्माण हुने भएको छ । पुरातत्व विभागले राष्ट्रिय योजना आयोगबाट काँक्रेविहार पुनःनिर्माणका लागि बजेट र योजना स्वीकृत गरेपछि काँक्रेविहार बन्ने भएको हो।
पुनःनिर्माणका लागि माघ महिनाभित्र बोलपत्र आह्वान गरी सम्झौता हुनासाथ काम सुरु हुने पुरातत्व विभागले जनाएको छ । बहुवर्षीय योजनामा राखेर नौदेखि ११ करोडसम्मको लागतमा काँक्रेविहार पुनःनिर्माण गरिने र तीन वर्षसम्ममा पूरा गर्ने योजना बनाइएको छ।
आयोगबाट स्वीकृति लिएपछि अर्थमन्त्रालयले बजेट निकास गर्ने भएकाले अब तीव्र गतिमा काम अघि बढ्ने विभागका महानिर्देशक भेषनारायण दाहालले बताए।
शिखर शैलीमा पुनःनिर्माण हुने काँक्रेविहारको संरचनामा अहिले अवशेषका रुपमा रहेका संरचनालाई नै प्रयोग गरिने उनले जानकारी दिए।
सभासद् हृदयराम थानीको विशेष पहलमा योजना आयोगले बहुवर्षीय योजनाअन्तर्गत काँक्रेविहार पुनःनिर्माणको स्वीकृति र अर्थमन्त्रालयले बजेट दिएको हो ।
काँक्रेविहार भग्नावशेषको २०५७ साल फागुन ११ गतेदेखि उत्खनन गरी दुई हजार २८ वटा पुरातात्विक वस्तुहरु निकालिएको थियो। उत्खननस्थलमा पुरातत्व विभागले २०६१ साल मङ्सिरदेखि शिखर शैली मन्दिर बनाउन काम सुरु गरिएको थियो। काँक्रेविहार कहिले र कसले बनाएको र कसरी भग्नावशेष भयो भन्नेबारे सबैको एकमत छैन। रासस