आज ६२ औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ।
यस वर्षको नारा ‘कुष्ठरोग मुक्त समाजको परिकल्पना, नयाँ प्रविधि, मानवअधिकार र पुनःस्थापना’ भन्ने तय गरिएको छ। दि लेप्रोसी मिसन नेपालले पनि यसै अवसरमा कुष्ठरोगसम्बन्धी जनचेतना जगाउने खालका विभिन्न किसिमका चित्रकला प्रस्तुत गरेको छ।
कुष्ठरोग नियन्त्रण महाशाखा प्रमुख वासुदेव पाण्डेका अनुसार नेपालमा वार्षिक तीन हजार नयाँ रोगी थपिने गरेका छन्।
उनका अनुसार उपचारका लागि आउने बिरामीमध्ये समयमानै उपचार नगराएर चार प्रतिशत बिरामीको अङ्गभङ्ग भइसकेको हुन्छ। रोग सुरु भएको ६ महिनामा उपचार गराए पूर्णरुपमा यो रोग निको हुन्छ ।
कार्यक्रममा संस्थाका राष्ट्रिय निर्देशक डा शुभाकर कँडेलले नेपालमा हालसम्म एक लाख ७५ हजारले यस रोगको उपचार गराइसकेको बताउनु भयो । नेपालमा हालसम्ममा ३१ हजार व्यक्ति यो रोगकै कारणले अङ्गभङ्ग भएका छन् । यो रोग ७५ प्रतिशत तराईका नागरिकलाई लाग्ने गरेको छ।
रोग लाग्न सुरु गरेको छ महिनामा यसको उपचार भए पूर्णरुपमा निको हुने चिकित्सकले बताएका छन् । यो रोग जुनसुकै उमेर समूहका मानिसलाई लाग्न सक्ने र शरीरमा नचिलाउने फुस्रो दाग देखापरेमा तुरुन्त उपचार गराउन सल्लाह दिइएको छ। रासस