रुकुमको एक विद्यालयमा पुस्तकालय स्थापना गर्न पूर्वविद्यार्थीहरुले थालेको अभियानअन्तर्गत आइतवार थप सहयोग सामग्री हस्तान्तरण गरिएको छ।
खलंगा गाविस– ८ झुल्खेतस्थित बालकल्याण उच्च माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न सोही विद्यालयका पूर्वविद्यार्थीहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग संकलन अभियान सञ्चालन गरेका थिए।
गत भदौ जिल्ला विकास समिति रुकुममा एक कार्यक्रम गरी पहिलोचरणको सहयोग हस्तान्तरण गरेको पूर्वविद्यार्थी मञ्चले आइतवार दाङमा कार्यक्रम आयोजना गरी दोस्रो चरणको सहयोग हस्तान्तरण गरेको छ ।
पहिलो चरणमा २५ हजार रुपैयाँ हस्तान्तरण गरेको मञ्चले दोस्रो चरणमा ३४ हजार १ सय १६ रुपैयाँ हस्तान्तरण गरेको छ । पहिलो र दोस्रो चरणमा आर्थिक संकलन गरिएको अभियानमा अब तेस्रो चरणमा पुस्तक संकलन गरिने पूर्वविद्यार्थी मञ्चले जनाएको छ।
सो अभियानमा अहिलेसम्म एक लाख ९ हजार १ सय १६ रुपैयाँ सहयोग संकलन भएको पूर्वविद्यार्थी मञ्च झुल्खेतका संयोजक एवं पत्रकार नरेन्द्र केसीले जानकारी दिए। उनका अनुसार अभियानमार्फत सहयोग घोषणा गरेका जिल्ला विकास समिति रुकुम र जिल्ला शिक्षा कार्यालयबाट ५० रुपैयाँ निकासा हुन बाँकी छ।
पूर्वविद्यार्थी मञ्चले आज दाङमा गरेको कार्यक्रममा प्रमुख अतिथि पद्योदय पब्लिक नमूना उमावि दाङका प्राचार्य डा. कृष्णराज डिसी र बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अजयदीप शर्माले विद्यालयका प्रचार्य गोविन्द ओलीलाई संयुक्तरुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए।
सो अभियानमार्फत अमेरिकामा बस्ने इन्टरनेशनल ब्लड डोनर्स एशोसियनका अध्यक्ष अर्जुनप्रसाद मैनाली, जिल्ला विकास समिति रुकुम र जिल्ला शिक्षा कार्यालय रुकुमले २५÷२५ हजार, पूर्वविद्यार्थीहरु अनिल बुढाले १० हजार, शशीराम बाँठाले ६ हजार, काँशीराम ओलीले ५ हजार १ सय १५, नरेन्द्र केसीले ५ हजार, गणेशकुमार गौतमले ५ हजार तथा दाङका साहित्यकार महेन्द्र महकले १ हजार ५ सय र दोलखाका भरत उप्रेतिले एक हजार पाँच सय सहयोग गरेका छन्।