मोरङको बेतना सिमसार नजिकै सोमबार बिहान एक प्रहरी हवल्दार मृत फेला परेका छन्। लक्ष्मीमार्गस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सर्लाही स्थायी घर भएका सहायक सशस्त्र प्रहरी हवल्दार सुनिल श्रेष्ठ मृत भेटिएका हुन्।
एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले मोरङको खोर्सानेदेखि सलकपुरसम्म आइतबार साँझ आयोजना गरेको मसाल जुलुसका क्रममा उनी सादा पोशाकमा खटिएका थिए।
ड्युटी सकेर क्याम्प फर्कने क्रममा बेतना सिमसारबाट दक्षिण जाने पूर्व पश्चिम लोकमार्ग छेउमा पैनीको खाडलमा साईकल सहित खसेको अवस्थामा उनी फेला परेका हुन्।
सोमबार बिहानै मर्निङवाक गर्ने स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक श्रेष्ठको टाउकोमा गम्भीर चोट देखिएको छ। उनका सहकर्मीका अनुसार मादक पदार्थ सेवन नगर्ने उनी मिलनसार मिजासका थिए।
दुर्घटना वा के कारणले उनको मृत्यु भएको हो भन्ने खुलि नसकेको र उनको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाईएको सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार पन्तले बताए।