एकजना युवकको हत्यारा पक्राउ नपरेको भन्दै काभ्रे जिल्लाबासीले सोमबार बिहानैदेखि अरनिको राजमार्ग अवरुद्ध पारेका छन्।
अरनिको राजमार्ग अन्तरगत काभ्रेको पाँचखालमा मृतकका आफन्त तथा स्थानियबासीले तीन देखि यातायात अवरुद्ध पार्दै आएका छन्। पाँचखाल नगरपालिका वडा नम्बर ३ का २७ बर्षीय ज्ञानुराजा ठकुरीको हत्या भएको दावी गर्दै उनीहरुले हत्यारा पक्राउ नपरेसम्म आन्दोलन जारी राख्ने बताएका हुन्।
यसअघि युवकको मृत्यु सम्बन्धमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएपछि प्रदर्शनकारीले हिजो साँझ ७ बजेबाट आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका थिए। पीडित पक्ष, स्थानीय बासिन्दा र प्रहरी प्रशासनबीच गएराती पनि वार्ता भएपनि पीडित पक्षले प्रहरी विरुद्ध नै किटानी उजुरी दिन चाहेपछि बार्ता विथोलिएको थियो ।
सडक अवरूद्ध भएपछि काभ्रेकै बिभिन्न गाउँ तथा सिन्धुपाल्चोक, दोलखा र रामेछापबाट यो राजमार्ग भएर चल्ने सवारीसाधन रोकिएका छन्।