पर्साको झौवागुठी गाविस–७ का स्थानीय एक आमाछोरीलाई स्थानीय केही व्यक्तिले गएराति कथित बोक्सीको आरोपमा निर्धात कुटपिट गरेकामा उनीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ।
वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचार गराइरहेका मञ्जुदेवी सुनारी र उनकी छोरी ममताको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको पीडितका छोरा रवीन्द्रले बताए। कथित बोक्सीको आरोपमा गाउँलेको एक समूहले आमाछोरीलाई निर्धात कुटपिट गरी घाइते बनाएका थिए।
सोही ठाउँका धुव्र साहले आफ्नो अढाइ वर्षको छोरालाई बोक्सी लगाएको भन्दै शनिबार राति कुटपिट गरेको मञ्जुका छोरा रवीन्द्रले जानकारी दिए ।
राति घरमा आफू पनि नभएको र बुबा पनि बहिनीको विवाहका लागि कुरा गर्न केटा पक्षको घरमा गएका बेला राति साहसहित उनकी आमा एकवाली देवी र स्थानीय प्रभु साह, कृष्ण साह र भरत साह मिलेर आमा र बहिनीलाई कुटेको उनले बताए।
राति नै वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना गराइएकामा त्यहाँ उपचार सम्भव नभएपछि मञ्जु र ममतालाई नेसनल मेडिकल कलेज वीरगन्जमा आइतबार बिहान भर्ना गराएको थियो। रवीन्द्रका अनुसार मञ्जुको टाउकामा शरीरका विभिन्न भागमा चोट लागेको छ भने ममताको पनि शरीरका विभिन्न भागमा चोटपटक लागेको छ। रासस