वीरगन्ज जेलमा यसका प्रमुख गोपालप्रसाद बरालभन्दा वन्दी नाइके चाचाजीकै चकचकी चल्छ। यस्तो लाग्छ, चाचाजी जता हिड्छन् हावा पनि उतै बहन्छ।
'हुन त मेरो नाम शेख सफी अहमद हो,' उनले गर्वसँग भने, 'यो नामले यहाँ भित्र र बाहिर कसैले पनि चिन्दैन, चाचाजी भने पुग्छ।'
होचो कद, सेता दाह्री, पाको अनुहारका चाचाजी एउटा प्रशासकजस्ता देखिन्छन्। रमाइलो पाराले बोल्नु पर्ने र बोलीमा व्यंग्य मिसाउन सिपालु यी नाइके वीरगन्ज जेलमा आएको एक वर्ष भएको छ।
नक्कली भारतीय नोट कारोबार मुद्दा लागेका चाचाजी आएपछि उनले वीरगन्ज जेलको अवस्था भने निकै सुधारेका छन्। बरालको अनुमति र चाचाजीको सहमतिमा यसभित्रको गतिविधि हेर्दा त्यस्तै लाग्थ्यो।
'अस्लाम वालेकुम चाचाजी'... 'नमस्कार चाचाजी' उनले जेलभित्रको स्थिति देखाउन लगिरहेका बेला ठाउँठाउँबाट उठेर कैदीहरूले उनलाई सम्वोधन गर्थे। उनी पनि कसैलाई 'वालेकुम सलाम,' कसैलाई 'नमस्कार' फर्काउँथे।
'फोहर गर्ने कसैको मजाल (तागत) छैन यहाँ,' सफा भुईं, भित्ता र बस्ने ठाउँ देखाउँदै उनले भने। ११३६ बन्दी (पुस ९ गते) रहेको यो ठाउँ आफैंमा एउटा सानोतिनो बजारजस्तो देखिन्छ।
प्रवेश गर्ने ठाउँमै केही बन्दीहरू बारको छेउमा उभिएर परिवार र आफन्तहरूसँग कुरा गर्दै थिए। गेटभित्र प्रवेश गर्नासाथ एउटा अनौठो संसार त्यहाँ देखियो।
प्रवेश गर्ने वित्तिकै पुस्तकालय छ। जहाँ धार्मिक, कानुनी, साहित्यका किताब र पत्रपत्रिका राखिएका छन्। पुस्तकालयको व्यवस्थापन गर्ने जिम्मा पनि त्यहीका बन्दीलाई लगाइएको छ। छेवैमा संगीतको अभ्यास गर्ने ठाउँ पनि छुट्याइएको छ। क्रिसमसको पूर्वसन्ध्यामा तयारी गरिरहेकाहरूलाई शुभकामना दिँदै उनी अगाडि बढे।
'जेलभित्रको संसार अर्कै हुन्छ,' चाचाजीले व्याख्या गरे, 'यहाँ बाहिरको कानुन लाग्दैन, यहीं भित्रको कानुन छ।'
त्यसपछि उनले लिएर गए वन्दीहरूको खाना खाने ठाउँमा। ठूल्ठूला भाडामा भात पाकिरहेको थियो। यहाँ 'राति चार बजेदेखि खाना पाक्न थाल्छ,' उनले भने, 'त्यसपछि सफाइ गरेर फेरि बेलुकाको निम्ति खाना पकाउने काम सुरु हुन्छ।'
'दुई छाक मात्रै खाना खानु हुन्छ?' उनले व्यंग्यात्मक शैलीमा ठोकिहाले, 'यति सुविधा दिएर वन्दीले कसरी तीन छाक खान सक्न, हजूर?'
वन्दीलाई सरकारले प्रति दिन ४५ रूपैयाँ र ७ सय ग्राम चामल दिन्छ।
चामलको कुरा गर्दागर्दै हामी चामल केलाइरहेको ठाउँमा पुग्यौं। केही वन्दीहरू धमाधम चामल केलाइरहेका थिए। उनले चामलतिर देखाउँदै भने, 'हामीलाई दिने चामलमा २५ प्रतिशतभन्दा बढी ढुंगा, कनिका हुन्छन्।'
ठेकेदारले सधैं यस्तै चामल दिने गरेको गुनासो उनले गरे। 'खै झुक्किएर हो वा केले हो यसपटक भने राम्रो चामल आएको छ,' उनले भने, 'सायद अन्यत्र कतै पठाउन खोजेको चामल यता आएको हुनुपर्छ।'
उनले त्यसपछि लिएर गए खाना खाइरहेको ठाउँमा। खाना खाइरहेका वन्दीहरू उठेर चाचाजीलाई नमस्कार गर्न थाले। उनले 'बसेर खा' भन्दै पिठमा हात थप्थपाए।
उनी एकजना खाइलाग्दा बन्दीका अगाडि पुगेर भन्न थाले, 'यस्ता डाँकाहरू पनि छन्, जसले बाहिर मान्छे उठाएर र लुटेर कमाए। त्यही भएर जेलभित्र पनि यिनीहरूलाई मासु नभई भात रुच्दैन।'
उनले डाँका भनिएका वन्दी मुस्कुराए। नभन्दै उनी त्यही बेला मासुको चोक्टा लिएर खाइरहेका थिए र उनको अगाडि कचौरामा पनि मासु थियो।
केहीपछि हामी घुम्दै अर्को ठाउँमा पुग्यौं जहाँ बन्दीहरू झुरुप्प बसेर कुराकानी गरिरहेका थिए। त्यहाँ थिए एकजना माओवादी जसको शरीरमा अझै गोली छ। कुनै बेला तिनलाई यिनै चाचाजीले अभिवादन भनेका कारण कारवाही पनि गरेका रहेछन्।
'यस्ता माओवादी पनि छन्,' उनले तिनलाई देखाउँदै भने, 'यो ठाउँ जयनेपाल, लालसलाम वा अभिवादन भन्ने होइन। यहाँ आएपछि यहीको काइदा कानुन अनुसार चल्नुपर्छ।'
प्रत्येक वन्दीले देख्नासाथ नमस्कार गरेको दृश्य भने अनौठो थियो। उनले यसको जवाफ पनि दिइहाले, 'नमस्कार गर्नू भनेको देख्नासाथ सम्वोधन गरेको हो। एउटा बच्चालाई पनि देख्नासाथ नमस्कार गरेपछि उसले नगरी सुख छैना'
'हामी यहाँ नमस्कार, नमोनमः भन्छौं,' उनले भने।
हजार जनाभन्दा धेरै मानिस रहेका भएपनि फराकिलो ठाउँ भएकाले वन्दीहरू भित्रै घुमेर शारीरिक अभ्यास पनि गर्छन्। एउटा कुनामा केही वन्दीहरू चुरोट तानिरहेका थिए। त्यो ठाउँमा पनि छुट्याएको जानकारी उनले दिए।
'एउटै पनि चुरोटको ठूटो कतै देखियो भने यहाँ कारवाही हुन्छ,' उनले भने, 'कसैले यहाँ फोहर गर्न पाउँदैन।'
उनीहरूले टेलिभिजन हेर्ने ठाउँ, त्यसभन्दा योग र ध्यान गर्ने ठाउँ पनि बनाएका छन्। एक हुल बन्दीहरू टेलिभिजनमा नृत्य हेरिरहेका थिए। त्यहाँ उनीहरू नाँचको अभ्यास पनि गर्छन्।
बन्दीहरूले आफैं खर्च कटाएर त्यो भवन बनाएको जानकारी उनले दिए। 'बन्दीहरूले आफ्नो रगतपसिना गरेर यो बनाएको हो,' उनले भने, 'सरकारले यसलाई रंगाउनसमेत रकम दिन सकेको छैन।'
जेलभित्र एउटा स्कुल पनि छ। एक कोठाको स्कुलमा शिक्षकको दरबन्दी पनि छ। '८ फिट लम्बाइ ६ फिट चौडाइको कोठाका लागि केटालाई पढाउने ३ र केटीलाई पढाउने २ शिक्षक दरवन्दी छ,' चाचाजीले भने।
सेवा र सुविधाको सन्तुलन नमिलेको बन्दी नाइकेले सुनाउँदा सँगै रहेका जेलर बराल मुसुमुसु हाँसिरहेका थिए। चाचाजीले जेलभित्रका दृश्य देखाउँदा उनी पनि सँगै थिए। किनभने उनले यहाँ कुनै ठूलो परिवर्तन ल्याउन सक्दैनन्, मात्र परिस्थितिलाई कुर्ने मात्र हो। त्यो दिन उनले एक जान मानसिक सन्तुलन नभएका र अर्का गम्भीर विरामीलाई काठमाडौं पठाउन लागेका थिए। त्यसैका निम्ति पनि उनले कम्ती कोसिस गर्नुपरेन।
'जेलको सबैभन्दा चिन्तित मानिस गभर्नर (प्रशासक) हो,' आइरिस नाटककार तथा लन्डन स्कुल अफ इकोनमिक्सका सहसंस्थापक जर्ज बर्नाड सले यिनै बराललाई हेरेर उद्दरण दिएजस्तो लाग्छ।
उनले ठीकै भनेका हुन्। वीरगन्ज जेलमा कोही बढी चिन्तित छ भने त्यो बन्दी होइन त्यहाँका जेलर हुन्। किनभने जेलर हुनु भनेको मनमा अनेकन चिन्ता राख्नु र सरुवाको प्रतिक्षा गर्नु हो।
वीरगन्ज जेलमा उपसचिवस्तरको दरवन्दी छ। तर, त्यो तहका कर्मचारी त्यहाँ विरलै हाजिर हुन्छन्। शाखा अधिकृतस्तरका अहिलेका जेलर गोपालप्रसाद बरालले ६ महिना पुर्याएका छन् र सरुवाको प्रतिक्षामा छन्। २१ जनाको दरवन्दी रहेको जेलमा १६ जना कर्मचारी छन्, जसमा अधिकांश तल्लो स्तरका मात्र छन्। प्रमुखले बस्नैपर्ने वाध्यता भएका कारण मात्र उनी यहाँ छन्।
'जेलको बसाइ दबाबले भरिएको हुन्छ,' अध्यागमन विभागबाट घरपायक सर्लाही मागेका बरालले वीरगन्ज जेल प्रशासक हुँदाको अनुभव बताए, 'यतिका धेरै मानिस बसेका ठाउँको व्यवस्थापन आफैंमा तनावयुक्त हुन्छ।'
अझ यो भन्दा पनि बढ्ता तनाव उनलाई त्यतिबेला हुन्छ, जतिबेला बन्दीहरूले समयमा आफ्नो सुविधा प्राप्त नभएको गुनोसो गर्दै गाली गर्छन्। 'सरकारी रकम कलमको कामका लागि प्रक्रिया हुन्छ,' उनले भने, 'यहाँ सित्तैमा बन्दीको गाली खानुपर्छ।'
जेलभित्रका दृश्यहरू देखाइसकेपछि चाचाजीले त्यही भित्र बनाएको रोटी र तरकारी पनि नख्वाई नछोड्ने भए। त्यही बेला उनलाई सोधियो, 'चाचाजी तपाईं त सबैलाई व्यंग्य कस्नुहुन्छ, रिसाउँदैनन्?'
'कति ठाउँमा त्यो भनिदिएपछि धेरैको मनमा मल्हम लाग्छ,' उनले भने, 'यहाँ सबैको मनमा कुनै न कुनै चोट छ।'
एउटा बन्दी नाइकेले पनि प्रयास गर्यो भने परिस्थिति फरक हुने रहेछ। 'चाचाले राम्रो बोल्दियो भन्छन्,' उनी भन्छन्। उनको अनुहार उज्यालो भयो।