बाढी र पहिरोले बाटो अवरुद्ध दार्चुलामा खाद्यान्न अभाव सुरु भएको छ। बाढीको दुई सातापछि सेनाको हेलिकोप्टरले केही खाद्यान्न ओसारे पनि दुई दिनमै बन्द भएको थियो।
उक्त खाद्यान्न खाद्य संस्थान र साल्ट ट्रेडिङमार्फत बिक्री वितरणका निम्ति ल्याइएका थिए । ग्रामीण क्षेत्रमा खाद्य संकट भएपछि खाद्य संस्थानले खाद्यान्न दार्चुला भित्र्याएको थियो । सडक अवरुद्ध हुँदा डडेल्धुरामा रोकिएको चामल, दाल, चिनी, तेल, चिउरा लगायतका सामान संस्थानले हेलिकप्टरबाट दार्चुला पुर्याउन थालेकामा बीचैमा रोकिएको छ । संस्थानले बिक्रिका लागि ल्याएको १ सय ४३ क्विन्टल चामल, १० क्विन्टल दाल, ८ क्विन्टल चिनी, १२ बोरा चिउरा र १ हजार लिटर खानेतेल वितरण सकिएको छ । चामल प्रति किलो ३४, चिनी ७०, दाल ९७, तेल प्रति लिटर १ सय ४६ र चिउराको ४७ रुपैया किलोका दरले बिक्रि गरेको थियो । सदरमुकाममा प्रतिपरिवार १५ किलो र अन्यलाई ३० किलोग्राम दिएको साल्ट ट्रेडिङका लक्ष्मणसिंह धामीले बताए।
ग्रामीणहरुलाई प्राथमिकताका साथ चामल दिएर पठाएपछि हाल सदरमुकाममा चामलको कमी देखिए पनि त्यसलाई अभावै भनिहाल्न नमिल्ने जिल्ला प्रहरी प्रमुख कुवेर कडायत सेतोपाटीलाई बताउँछन्।
भारतमा पनि अहिलेसम्म धार्चुला जोड्ने बाटो तयार नभइसकेको र नेपाल तर्फकै बाटो पनि १६ किलोमिटर परको दत्तुबाट अघि बढ्न नसक्दा खाद्यान्न आपूर्ति सुचारु हुननसकेको उनको भनाइ छ । दत्तुमा शुक्रबारै पनि दुई ट्रक चामल आइपुगेको र त्यसलाई ल्याउने पहल सुरुभएको कडायतले जानकारी दिए । यसै बीच दत्तुबाट खलंगासम्मको १६ किलोमिटर बाटोमा पनि दुई स्थानमा मोटर चलाएर आवागमन सहज पारिएको छ । दत्तु छेवैको बाटोमा भएको नोक्सानी भने ठूलै रहेकाले तत्काल बनाउन अप्ठेरो परिरहेको डिएसपी कडायत सुनाउछन्।
असार पहिलो साता आएको महाकालीको बाढीले बेहाल खलंगाबासी र आसपासका डेढ दर्जन गाविसमा बिस्तारै खाद्यान्नको समस्या चर्किन थालेको छ । धाप, धौलाकोट, हुती, हिकिला, पिपलचौरी लगायतका क्षेत्र र उत्तरी क्षेत्रका हुती, धौलाकोट, सुन्सेरा, राप्ला र ब्यास गाविसमा खाद्यान्नको बढी अभाव छ ।
नेपाल भारत जोड्ने जोलजिवी सीमाको झोलुंगे पुल बगाएपछि दक्षिणी दार्चुलाले पनि खाद्यान्न अभाव बेहोर्नुपरेको छ । त्यसतर्फ लाली, उकु, डाडाकोट, हुनैनाथ लगायतका बासिन्दा समस्यामा परेका छन् ।
भारतीय बजारको भरपर्ने स्थानीयवासीलाई बाढीले जोलजिवी धार्चुला सडक भत्किएपछि झनै अप्ठेरो परेको छ । बाढीले उताको सडक पनि भत्काएपछि भारतीय बजारमा समेत सामान पाउन गाह्रो परिरहेको छ । ‘बाटाघाटो र सडक हुदा त समस्या थियो,’ धौलाकोट–९ का रामदत्त भट्ट भन्छन्, ‘अहिले पाइएको ३० किलो चामलले ग्रामीण भेगका वासिन्दालाई केही दिनको निम्ति गुजारा हुनेभएको छ ।’
भारतीय बजारबाट दैनिक उपभोग्य बस्तु ल्याउदै आएपनि सडक भत्किदा १०÷१२ घण्टा हिडेर गाउ पुग्ने बाध्यता आएको सुन्सेरा–८ का जमनसिंह धामीले बताए । ‘६ घण्टामा पुगिने बाटोमा दुई दिन हिड्ने बाध्यता छ,’ धामीले भने, ‘जेनतेन बजारमा पुगेपनि सामान पाईदैन, के खाने समस्या भएको छ ।’
डडेल्धुरामा रोकिएको एक सय क्विन्टलभन्दा बढी चामल जिल्लामा ल्याइ पुर्याउन समन्वय भईरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी अधिकारीले बताए । ‘क्षेत्रिय प्रशासन र अन्य निकायसित छिटो ढुवानी गर्न समन्वय भईरहेको छ ।’ अधिकारीले भने, ‘हेलिकप्टरबाट सदरमुकाम र सिधै गाउमा पुर्याउने प्रयासमा छौं ।’
क्याप्सनः ओसार्नै समस्याः असारको पहिलो साता महाकालीमा आएको बाढीले सडक मार्ग क्षतविक्षत पारेपछि यो सिंगो भेगमा उपभोग्य बस्तु ओसार पसार गर्नै समस्या भएको छ । पछिल्लो समय यस क्षेत्रमा खाद्यान्नको समस्या देखिन थालेको छ । तस्बिरः सेतोपाटी