द्वन्द्वका क्रममा मृत्यु र बेपत्ता भएका परिवारका आफन्तजनलाई साउनदेखि परिचयपत्र वितरण गरिने भएको छ ।
सरकारले २०६९ चैत्र ४ गते पारित गरेको परिचयपत्र वितरणसम्बन्धी निर्देशिका कार्यान्वयन गर्ने सन्दर्भमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयले जिल्लामा रहेका मृतक र बेपत्ताका आफन्तलाई परिचयपत्र वितरण गर्न निर्देशन दिएपछि सुर्खेतमा साउनदेखि परिचयपत्र वितरण गर्न लागिएको हो ।
दस वर्षे माओवादी जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, थरुहट आन्दोलन, तराई–मधेस आन्दोलन, पिछडा वर्ग आन्दोलनका क्रममा मृत्यु भएका र बेपत्ता भएकाहरुको परिवारजनले मात्रै परिचयपत्र पाउने प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले जानकारी दिए । परिचयपत्र वितरण गर्दा मृतक तथा बेपत्ताको सबैभन्दा नजिकको आफन्तको पहिचान गरी परिचयपत्र वितरण गरिने कुँवरको भनाइ छ ।
परिचयपत्र पाउन यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयद्वारा गठित द्वन्द्वपीडित व्यक्ति, परिवार तथा संरचनाको लगत सङ्कलन कार्यदलको प्रतिवेदनमा नाम दर्ता भएको हुनुपर्ने छ । मृतक र बेपत्ताका नजिकका व्यक्तिले जिल्ला प्रशासन कार्यालयमा स्वयम् उपस्थित भई निवेदन दिएर परियपत्र लिनुपर्ने प्रमुख जिल्ला अधिकारी कुँवरले बताए ।
कार्यदलको प्रतिवेदनअनुसार सुर्खेतमा मृतकको सङ्ख्या ३३० रहेको छ । यसमध्ये २७८ जनाले राहत पाइसकेका छन् । यस्तै बेपत्ता पारिएका १३ जनाका परिवारलाई राहत दिइसकिएको छ भने थप नौ जनाका आफन्तलाई राहतका लागि सिफारिस गरिएको छ । परिचयपत्र पनि यसअघि राहत पाएका मृतक र बेपत्ताका आफन्तले मात्रै पाउने छन् । रासस