दुर्घटना न्यूनीकरणका लागि थालिएको अभियानमा सहभागीहरु ।
स्कुल पोशाक । हातमा चन्द्रसूर्य अंकित झन्डा ।
एञ्जीला बस्नेत सोमबार विहान साढे ९ बजेदेखि नै बसपार्क क्षेत्रमा लागेको लाइनको अग्रपंक्तिमा उभिएकी थिइन् ।
बढ्दो सडक दुर्घटना न्यूनीकरणका लागि दुई दर्जन संघसंस्थाले सुरु गरेको ट्राफिक सप्ताहव्यापी कार्यक्रममा सहभागी बन्न उनी आइपुगेकी हुन् ।
‘दुर्घटनाबाट आफू र अरुलाई बचाउन,’ बस्नेतले सेतोपाटीलाई भनिन्, ‘दुर्घटना धेरै हुन थालेका छन् अहिले ।’
उनीजस्ता सयौं विद्यार्थी दुर्घटना रोक्ने अभियानका पोस्टर बोकेर लामबद्ध भए ।
ट्राफिक सचेतना मञ्चको आयोजनामा सोमबार सुरु भएको यो सप्ताहभरि दुर्घटना रोक्ने चेतनामूलक कार्यक्रम छन् । यो मञ्चमा आवद्ध २४ संघसंस्थाले एकैस्वरले दुर्घटना न्यूनीकरणका लागि आफूहरु जागेको जनाएका छन् ।
यी संस्थाको सक्रियतामा बृहत चेतनामूलक जुलुस प्रदर्शन गरिएको छ ।
‘हरेक दिन विहान उठ्नेवित्तिकै मान्छे मरेको समाचार सुन्दा साह्रै दुःख लागेर आउँछ,’ मञ्चका अध्यक्ष रेवत कार्की भन्छन्, ‘दुर्घटना न्यूनीकरण होस् भन्ने उद्देश्यले हामीले सप्ताहव्यापी अभियान चलाएका हौं ।’
पहिलो दिन चेतनामूलक पम्प्लेट वितरण गर्ने, प्रचारप्रसार, दिउँसै मापसे जाँच, दुर्घटना सम्बन्धि फोटो प्रदर्शनी, धूमपान जाँच लगायत छन् ।
यो अभियानभरि नै मापसे जाँचलाई प्राथमिकतामा राखिएको छ ।
‘धेरैजसो दुर्घटना मादक पदार्थ सेवनका कारण हुने गरेकाले चेकजाँचलाई प्राथमिकतामा राखिएको हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक विजय श्रेष्ठ भन्छन्, ‘सवारी चालक तथा कर्मचारीलाई दुर्घटना न्यूनीकरणका निम्ति तालिम दिने कार्यक्रम पनि छ ।’
उनका अनुसार मंगलबार दुई बजे सवारी चालक तथा कर्मचारीलाई तालिम दिने कार्यक्रम छ । श्रेष्ठ आफैंले यो तालिमको सहजीकरण गर्दैछन् ।
नगरको फुटपाथ सचेतना, अन्तरक्रिया, निःशुल्क आँखा परीक्षण शिविर लगायत कार्यक्रम गरिँदैछ ।
निःशुल्क आँखा परीक्षणमा सवारी चालक र कर्मचारीमात्र सहभागी बन्न पाउनेछन् ।
‘यातायात कर्मचारीको कहिल्यै विदा पनि नहुने र आँखामा समस्या भएका कारण कतिपय दुर्घटना हुने गरेको पाइएकाले आँखा परीक्षण कार्यक्रम राखेका हौं,’ संयोजक कार्की भन्छन् ।
सप्ताहव्यापी कार्यक्रमका क्रममा यातायात मजदुर तथा दुर्घटना नियन्त्रणका सरोकारवाला संस्थाबीच दोहोरी चलेको छ ।
यातायात मजदुरले सडकको गुणस्तर बृद्धि नगर्ने तर सवारी वर्सेनि थप्ने गरेका कारण अधिकांश दुर्घटना हुने गरेको बताएका छन् ।
‘सबै दुर्घटना यातायात श्रमिकको कारणले हैन,’ मजदुर नेता किशोर धमलाले भने, ‘सवारी दर्ता गरिरहने तर सडकको विस्तार नगर्ने सरकारको गैरजिम्मेवारीपनले दुर्घटना भइरहेका छन् ।’
प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले मानवीय र प्राविधिक कारण सडक दुर्घटना भइरहेको बताए ।
‘ट्राफिक नियम उल्लंघन बढेकाले दुर्घटना हुँदैछन्,’ उनले भने, ‘नियन्त्रणका लागि सक्रिय पक्ष प्राविधिक रुपमा कमजोर भएका कारण दुर्घटनाको स्थिति बढ्दैछ ।’
पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दुर्घटना न्यूनीकरणमा सर्वपक्षीय हातेमालो आवश्यक रहेको बताए । ‘दुर्घटनाका कारण अहिले मुलुकले नै चिन्ता लिनु परिरहेको छ, यसमा सबैपक्ष जिम्मेवार भएर लाग्न जरुरी छ,’ सिलवालले भने, ‘ट्राफिक प्रहरीको काम जरिवाना असुल्नेमात्र हैन, सबै पक्षसँग सहकार्य गरेर दुर्घटना रोक्न लाग्ने हो ।’
सडक दुर्घटना न्यूनीकरणका लागि सिलवालले नयाँ विधि प्रयोगमा ल्याउनुपर्ने औंल्याएका छन् ।
‘सडकसँग सम्बन्धित निकायहरुलाई एकैठाउँ, एउटै निकायको मातहत राख्नुपर्छ,’ सिलवालले भने, ‘यातायात व्यवस्था विभाग, सडक विभाग र ट्राफिक प्रहरी एउटै निकायको मातहत भयो भने सडक दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’
यी तीनवटै निकाय आ–आफ्नो दशतिर जिम्मेवारी रहेका कारण नेपालको ट्राफिक व्यवस्थापन गतिलो बन्न नसकेको उनले बताएका छन् ।
‘२० वर्षभन्दा पुरानो सवारी चलाउन नपाइने नियम छ, फाल्ने कसले हो ?,’ उनले भने, ‘यातायातमा सिन्डिकेट छ, सबै पार्टीका मान्छे मिलेर सिन्डिकेट चलाएका छन् । सिन्डिकेट हटाउनुपर्छ ।’
सवारी दुर्घटनाका केही कारण
- १. चालकको लापरबाही
- २. व्यवसायीको लापरबाही ढंगले चलाउने । मर्मत नगर्ने जबरजस्ती चलाउने ।
- ३. सडक राम्ररी बनेको छैन, वैज्ञानिक तरिकाले सडक निर्माण नहुनु । पहाडतिर योजनाबिना जबरजस्ती जबरजस्ती बाटो खनिएको छ । व्यवसायीलाई त्यही बाटोमा गाडी चलाउन दिइन्छ ।