राजधानी काठमाडौं भित्री व्यस्त बजार वसन्तपुरमा नौ कक्षामा पढ्दै गरेकी सुस्मिता मास्केका निम्ति सगरमाथा कुनै सुदूर क्षितिजको सम्भावना पनि थिएन। एकाएक उनले टेलिभिजनका समाचारमा एउटी साहसिक महिलाका बारेमा जान्ने मौका पाइँन्। ती अरू कोही नभएर पासाङल्हामु शेर्पा थिइँन्।
सगरमाथाको सफल आरोहण गरेर फर्कदै गर्दा पासाङल्हामुको निधन भयो। तर, सुस्मिताको उत्साह भने उनको त्यही साहसिक अभियानले जगायो। अर्थात् सुस्मिताको मनभरि सगरमाथा आरोहणका सपनाहरूले भरियो।
काठमाडौंका रैथाने नेवार परिवारका मानिसहरू सगरमाथा आरोहणमा जाने परम्परा थिएन। संयोग हो– भर्खरै मात्र सुस्मिताले आरोहण क्षेत्रमै नयाँ कीर्तिमान बनाएकी छिन्– संसारका सातै महादेशका उच्च पर्वत श्रृंखला चुमेर।
‘मलाई हिमालले बोलाएको हो,’ सातै महादेशका उच्च चुचुरा चुम्ने उनको अभियान ‘सेभेन समिट’ पूरा गरी काठमाडौं फर्किएको तेस्रो दिन सुस्मिताले भनिन्, ‘हाम्रो परिवारमा कोही पनि आरोहण क्षेत्रमा थिएन। मलाई हिमालले बोलाएरै आरोही बनाएको हो।’
सन् १९९३ तिर उनले पासाङल्हामुको नाम सुनेकी थिइन्। त्यसको १० वर्षअघि उनलाई आरोहणको तालिम लिने अवसर प्राप्त भयो।
आरोहणसम्बन्धी तालिम खुलेको जानकारी सानिमा द्रौपदी श्रेष्ठ (आमाकी बहिनी) बाट पाएपछि उनी यसमा सहभागी भइँन्। यसको पाँच वर्षपछि उनलाई समावेसी महिला आरोही दललाई नेतृत्व गर्ने अवसर प्राप्त भयो।
सपना पछ्याउनेका निम्ति भूगोल, उत्पत्ति, वर्ण, वंश, लिङ्ग आदि केही पनि बाधक बन्न सक्दैन भन्ने उदाहरण बनेकी छिन् उनी। सन् २००८ र २०११ मा सगरमाथा (८,८४८ मिटर) को सफल आरोहण गरेकी उनले गत वर्ष सुरू गरेको अभियानले सम्पूर्ण महादेशका उच्च टाकुराहरू चुम्ने लक्ष्य पूरा भयो।
उनले रसियामा रहेको युरोपको सबैभन्दा अग्लो चुचुरो एल्ब्रुस (५,६४२ मि), तान्जानियामा रहेको अफ्रिकाको सबैभन्दा अग्लो चुचुरो माउन्ट किलिमन्जरो (५,८९६ मि.), अष्ट्रेलियाको माउन्ट काजिएस्को (२,२२८ मि) आरोहण गरिन्। त्यस्तै उनले अर्जेन्टिनामा रहेको दक्षिण अमेरिकाको उच्च चुचुरो अकंकगोवा (६,९६१ मि), उत्तर अमेरिकाको माउन्ट मकिन्ले (६,१९४ मि) को आरोहण सम्पन्न गरिन्। सबैभन्दा पछिल्लो पटक दुई साताअघि अन्टार्टिकाको माउन्ट भिन्सोन मासेफ (४,८९२ मि) आरोण गरेपछि उनको सम्पूर्ण महादेशका उच्च शिखर आरोहणको अभियान पूरा भएको छ।
‘अन्तिम शिखर आरोहण गरिरहेका बेला मैले मेरा साथीसंगी र परिवारलाई सँगै लिएर गएकी थिएँ,’ ट्रेकिङ एजेन्सिज एसोसियसन्स अफ नेपाल (टान)ले आइतबार राजधानीमा आयोजना गरेको ३६ औं साधारण सभामा उनलाई अभिन्दन गरेपछि उनले भनिन्।
‘तपाईंले कसरी माउन्ट भिन्सोन मासेफमा परिवारलाई पनि लिएर जानु भयो?’ कार्यक्रमपछि सुस्मितालाई सोध्दा भनिन्, ‘त्यो मेरा निम्ति निकै भावुक क्षण थियो। म आफ्नो अभियान पूरा गर्न गइरहेकी थिएँ। आरोहणका करिब सात घण्टा मैले यो अभियानका क्रममा भोगेका घटना, परिवार, व्यक्ति सबैलाई सम्झिरहेकी थिएँ।’
आरोहण अभियानमा लाग्न सजिलो थिएन। परिवार सहयोगी भएकै कारण उनले यो सफलता हासिल गरिन्। काठमाडौंको न्यून मध्यम वर्गीय परिवारकी सुस्मिताका यी सपना पूरा गर्न परिवारले पूरै काँध थाप्यो। पछिल्लो अभियान पूरा गर्ने बेलासम्ममा ५० हजार अमेरिकी डलर (करिब ५० लाख रूपैयाँ) ऋण लागेको उनी बताउँछिन्।
‘अब काम गरेर ऋण तिर्ने हो,’ उनले भनिन्।
सगरमाथाका दुई आरोण र तीन अभियानमा सहभागी भइसकेकी उनले संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइँन्। अभियानमा जाने भएपछि उनले जागिर छोडिन्। यति होलिडेजले उनलाई रोजगारी दिइरहेको छ। ‘उहाँहरूकै बलबुतामा आरोहण गर्न पनि गएँ,’ उनले भनिन्।
अन्य असजिलो
आरोहणमा जाँदा उनलाई कुनै प्राविधिक समस्या थिएन। आवश्यक सबै तालिम लिएको भएपनि सानो ज्यान भएकी नेपाली युवतीले आफूभन्दा ठूलो भारी बोकेर यात्रा गरिरहेको देखेर अरूले अनौठो मान्थे। ‘कहिले सामान हराउँथ्यो,’ उनले भनिन्, ‘कोहीले निरुत्साहित गर्थे।’
भिसा लिनेदेखि हवाइ यात्राको तयारी समेत आफैंले गर्नुपर्ने अवस्थामा उनी थिइँन्।
हिमाल आरोहण गर्नेहरूले सधैं यसपछि के गर्ने भन्ने लक्ष्य निर्धारण गर्छन्। सगरमाथा आरोहण गरिसकेपछि उनैले सबै महादेशका उच्च हिमाल आरोहण गर्ने लक्ष्य राखेकी थिइँन्। ‘१२ वर्षमा सबै हिमालको हाँक लिने काम गरेँ,’ उनले भनिन्, ‘म दक्ष आरोही हुँ त्यही भएर यो आँट गरेँ। म कुनै बिहान उठेर हिमाल चढ्छु भनेर हिडेकी होइन।'
अबको यात्रा
सातै महादेशका उच्च शिखरको आरोहण गरे पनि सुस्मिताले हाम्रो समाजमा बालिकाहरूले नाघ्नुपर्ने समस्याका अनेकन चुचुराहरू देखेकी छिन्। ‘बालिकाहरूको सुरक्षा र सशक्तिकरण अबको मेरो अभियान हो,’ उनले भनिन्।
उनको आफ्नै संस्था 'खुटकिलो' मार्फत् यसका निम्त अभियान चलाउन थालिसकेकी छिन्। आरोहणमा गएका बेला अभियानमा केही रोक लागेको भएपनि उनी अब पूरै यतातिर लाग्ने तयारीमा छिन्।
उनको ‘क्लाइम्बिङ विथ सुस्मिता’ अर्थात् सुस्मितासँग आरोहण कार्यक्रम हरेक शनिबार सञ्चालन गर्दै आएकी छिन्। उनले राजधानी काठमाडौंका सडक बालबालिकाहरूलाई पासाङ ल्हामु फाउण्डेसनको सहयोगमा स्पोर्टस क्लाइम्बिङको तालिम दिन्छिन्।
उनले सातै महादेशको यात्रा गर्दा महिला र आप्रवासी कामदारहरूको धेरै समस्या देखिन्। ‘सेक्स स्लेभरी (यौन दासता) र बेचबिखन धेरै ठूलो समस्याका रूपमा रहेको छ,’ उनले भनिन्, ‘म महिला आप्रवासी सुरक्षाका निम्ति पनि काम गर्न चाहन्छु।’
उनले पर्वतारोहण र खेलमार्फत् बालिकाहरूको सुरक्षा र सशक्तिकरण गर्न चाहेको बताइँन्।
छोरीले सक्छिन्
उनले यो अभियान सुरु गर्दा धेरैले उनलाई निरुत्साहित गरेका थिए। ‘तिमी त छोरी मान्छे हौं’ भन्दै उनको अभियानमा भाँजो हाल्न खोज्ने घरका भन्दा बाहिरकै मानिस धेरै थिए। ‘छोरी भनेर कम आँक्नु हुँदैन,’ उनले अरू अभिभावकहरूलाई समेत सन्देश दिँदै भनिन्, ‘छोरीलाई पनि शिक्षा दिनुपर्छ, तिनलाई सक्षम बनाउनु पर्छ,’ उनले भनिन्।
‘म आफैंले मेरा कमजोरी र सम्भावनालाई खोजेँ, उनले आफूले अपनाएको विधिबारे उल्लेख गर्दै भनिन्।
हिमाललाई हेपियो
हाम्रो पर्यटन क्षेत्रलाई धेरै व्यापारिक बनाइएको महसुस उनले गरेकी छिन्। सगरमाथामा जसरी पनि चढ्न दिने गर्दा हिमाललाई नै ‘हेपेको’ जस्तो अनुभूति भएको उनले बताइँन्।
पर्यटन प्रवर्द्वन गर्न सुविधा र संरचना निर्माण गर्नुपर्ने उनले उल्लेख गरिन्। आवश्यक संरचना र सूचना नहुँदा आरोहणमा मात्र होइन पदयात्रामा पनि दुर्घटना हुने गरेको टिप्पणी उनको थियो।
पर्यटन क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई सहयोग हुने हो भने पर्यटन दूत भएर मुलुकलाई सेवा गर्न सक्ने उनले बताइँन्।
आरोहणमा जाँदा र पछि पनि उनले सहयोगका निम्ति कुनै आग्रह नगरेको उल्लेख गर्दै टानका पदाधिकारीहरूले कुनै निर्णय गरेर सहयोग गर्न सक्ने सम्भावना प्रकट गरेका थिए।
उनलाई अभिनन्दन गरेपछि सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले सरकारको तर्फबाट कुनै निर्णय हुन सक्ने आश्वासन समेत दिए। तर उनले उक्त निर्णयका बारेमा खुलाएनन्।
हिमालले बोलाएर यस क्षेत्रमा आएको ठान्ने सुस्मिताका निम्ति थप आरोहण योजनाबेगर बस्न गाह्रो छ। ‘आरोहणका योजना छन्, तर अहिले ऋण तिर्नमै केन्द्रित हुन्छु्,’ उनले भनिन्।
उनले पटकपटक प्रशंग उठाएको सुन्दा लाग्छ सुस्मिताको आरोहणले गौरवान्वित मास्के परिवारका निम्ति ऋणको पहाड नाँघ्न केही समय लाग्ने छ।
तस्विरहरूः प्रकाश लामा