रुपन्देहीको देवदहबाट प्रहरीले ठूलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ। वडा प्रहरी कार्यालय बुटवलले आईतवार ४ हजार २ सय लिटर अबैध घरेलु मदिरा नष्ट गरेको हो।
गस्तीको क्रममा प्रहरीले रुपन्देहीको देवदह नगरपालिका ११ चरङगे गाउँको रम्भादेबि टोल र मिलनचोकका विभिन्न घरहरुबाट उक्त परिणामको घरेलु मदिरा नियन्त्रणमा लिएको थियोे। पछिल्ला केहि महिनायता बुटवल तथा आसपासको क्षेत्रमा विक्रीको लागि ल्याईने अबैध मदिरा सो क्षेत्रमा उत्पादन गरिने जानकारी पाएको प्रहरीले चरङगे क्षेत्रमा निगरानी राखेको थियो।
सोहि क्रममा आज ४ हजार २ सय लिटर मदिरा, मदिरा बनाउन आवश्यक पर्ने ३ क्विन्टल मर्चा, मदिरा उत्पादन गर्न प्रयोग गरिएका ४ वटा चुला र ३ सेट भांडाहरु नियन्त्रणमा लिएर आइतबार नष्ट गरेको प्रहरीले जनाएको छ।
बिभिन्न समयमा अबैध मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नियन्त्रण गरेपनि यो भने अहिलेसम्मकै सबैभन्दा ठूलो परिणामको भएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक केदार पन्तले बताए।
पन्तले बरामद गरिएको मदिरालाई चरंगे बनमा लगेर नष्ट गरिएको बताए। अबैध रुपमा उत्पादन गरिने मदिरा विषाक्त हुनुको साथै मदिरा सेवनका कारण गाउंघरमा अपराधका घटनाहरु समेत बढेको भन्दै प्रहरीले घरेलु मदिरा उत्पादन तथा विक्री वितरणमा रोक लगाउँदै आएको छ।
प्रहरीले सानो परिमाणमा मदिरा उत्पादन गर्नेहरुबाट मदिरा बरामद गरि नष्ट गरेपनि ठूला होटल तथा रेष्टुरेण्टहरुमा विक्री वितरण हुने अबैध घरेलु मदिरालाई भने रोक्न सकेको छैन।