डोटीको एक प्राथमिक विद्यालयमा एक जना शिक्षिकाले ४८ जना विद्यार्थीको अध्यापनको जिम्मेबारी सम्हाल्नुपर्ने वाध्यता रहेको छ।
जिल्लाको बर्छेन गाविस वडा नम्बर ५ मुडागाउँस्थित जनप्रिय प्राथमिक विद्यालयमा विगत एक वर्षदेखि एकजना शिक्षिका कार्यरत छन्।
राहत कोटामा कार्यरत प्रधानाध्यापक तुल्सी कार्कीले विद्यालयको पठनपाठन सम्हाल्दै आएकी छिन्। निजि श्रोतमा शिक्षक राख्न विद्यालयसंग आयश्रोत नभएपछि एक जना शिक्षिकाको भरमा विद्यालय चलिरहेको छ।
यसअघि निजी श्रोतमा शिक्षक राख्न सहयोग गर्दै आएको स्थानीय सामुदायिक वनले पनि आयश्रोत नभएको भन्दै सहयोग गर्न छाडेपछि विद्यालयको अवस्था दयनीय बनेको हो।
विद्यालयमा एक जनामात्रै शिक्षिका भएपछि पठनपाठन प्रभावित भैरहेको छ। विद्यार्थीहरु दैनिक सबै विषय पढ्न समेत पाउँदैनन्। एक कक्षामा पठनपाठन भईरहेका बेला अर्को कक्षाका विद्यार्थीहरु चौरमा खेल्ने गर्छन।
‘एक जनाले सबै कक्षा संगै हेर्न सकिदैन। शिक्षक नभएपछि पठनपाठन प्रभावित भएको छ’ प्रधानाध्यापक कार्कीले भनिन्–‘एक कक्षा पढाउँदा अर्को कक्षा खालि हुन्छ।’
एक जनामात्रै शिक्षक भएकाले उनी बिरामी परे अथवा कुनै कारणले विद्यालय जान नपाए पठनपाठन पुरै ठप्प हुन्छ। शिक्षिका नआएको दिन कार्यालय सहयोगी लक्षीराम घर्तीले कक्षामा गएर हाजिर गर्ने गरेका छन्।
शिशु कक्षादेखि ३ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा ४८ जना विद्यार्थी छन्। शिक्षक नभएपछि कक्षा ४ र ५ को पठनपाठन चालु शैक्षिक सत्रदेखि बन्द गरिएको छ। गाउँ नजिक अर्को विद्यालय छैन।
विद्यालयमा सबै विषय पठनपाठन नहुने र गाउँ नजिक अर्को विद्यालय पनि नभएपछि विद्यार्थीहरु शिक्षा पाउनबाट वञ्चित छन्। २०६० सालमा स्थापना भएको सो विद्यालयले कक्षा ४ र ५ को पठनपाठन बन्द गरेपछि विद्यार्थीहरु दुई घण्टा पैदल हिडेर बर्छैन उच्च माविमा जाने गरेका छन्।
स्थानीय मुडा गाउँ, रजेडा र चिन्ने गाँउका बालबालिकाहरु सो विद्यालयमा अध्ययन गरिरहेका छन्।
विद्यालयको आयश्रोत नभएकोले शिक्षक राख्न नसकेको जनप्रिय प्राविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गठन खड्काले बताए। गत वर्षसम्म विद्यालयमा पाँच जना शिक्षक कार्यरत थिए। विद्यालयले तलब खुवाउन नसकेपछि कार्यरत चार जना शिक्षकले गत शैक्षिक सत्रमा विद्यालय छाडेका अध्यक्ष खड्काले बताए।
महिनौसम्म तलब नपाएको भन्दै प्रधानाध्यापक भैरब मौनी लगायत अन्य तीन जनाले विद्यालय छाडेका थिए। शिक्षक दरबन्दीका लागि शिक्षा कार्यालयमा अनुरोध गरिएको उनले बताए।
आगामी शैक्षिक सत्रमा जनशक्ति र स्तरोन्नतीका लागि पहल गर्ने बर्छैन श्रोत केन्द्रका श्रोत व्यक्ति सिद्धराज जोशीले बताए। ‘अभिभावले पनि आफ्नो तहमा पहल गर्नुपर्छ। सबैको सहयोग भए आगामी शैक्षिक सत्रमा विद्यालयको सुधार होला’ श्रोतव्यक्ति जोशीले भने। विद्यालयमा टीनले छाएका दुई वटा कच्ची भवन छन्।
अधिकांश सामुदायिक विद्यालयले शैक्षिक जनशक्ति र भौतिक पूर्वाधार अभाव झेल्दै आएका छन्। आवश्यक पूर्वाधार र जनशक्ति विना नै विद्यालय खोलिदा समस्या उत्पन्न भएको हो।