जुम्ला सदरमुकाम, बाक्लो बस्ती र घाम लाग्ने ठाउँमा गत साता जम्मा भएको हिउँ धेरै कम भए पनि गाउँतिर अझै बाक्लै हिउँ बाँकी छ। सदरमुकाम खलंगाको पूर्व–दक्षिण भेकतिर डिल्लीचौर, पातरासी, छुमचौर जाने बाटो अझै पूरै हिउँले पुरीएको छ।
उर्थूदेखि डिल्लीचौरको कच्चीबाटो पूरै बाक्लो हिउँले ढाकेको कारण हिड्न, चौधबिस भेगका सर्वसाधारणलाई बजार आउन जान, आफ्नो कृषिजन्य उत्पादन बेच्न जान, बजारमा केही सामान किन्न जान, विरमीलाई अस्पताल पु¥याउन, जडीबुटी ओसार्न, युवा तथा बालबालिकालाई सदरमुकाम पढ्न आउन धेरै कठिन भएको छ।
महिलाहरू बच्चा र सामान बोकी चिप्लो बाटोमा हिंड्न बाध्य छन्। पुरुषहरू खच्चरलाई सामान बोकाई हिंडेका छन्। बच्चाहरू काठका पिर्का बोकेर हिंडेका छन्, अली ओरालो ठाउँ आयो की पिर्कामाथि बसेर चिप्लेटी खेल्दै जान्छन्।
१ देखि १.५ फिटसम्मको हिउँ हिमपातको एक साता पछि पनि मजाले बसेको छ भने मान्छे बढी हिंड्ने ठाउँमा चिसोले झन साह्रो चिप्लिने भएको छ। खच्चड तथा घोडाहरू पनि चिप्लेर हिंड्न गाह्रो भएकोले मान्छेले नकुल्चेको हिउँ भएको छेउ खोज्दै हिंड्दै थिए। डाँडाबाट झरेको पानी जमेर सिसा जस्तै बनेको थियो भने डाँडाका भित्तामा कडा क्रिष्टल बनेर एकदम आकर्षक भएको थियो।
ठमेलमा हिउँमा लगाउने जुत्ता भनेर किनेको महँगो जुत्ताले पनि ५ किलो मिटर हिउँमय बाटो छिचोल्न ३ पटक लाडायो भने २ घण्टा त्यहाँ पुग्न मात्र लाग्यो। अनुगमनमा हिडेका एकजना अधिकृतको लडेर हातै मर्किएको छ।
बानी नपरेकालाई ठाडो ओरालोमा चिप्लेर खोलातिर खस्ने डर भएकोले बसेर हिउँमा चिप्लेटी गर्दै डरलाग्दो गरी तल जानु पर्ने अवस्था आएको थियो। तर गाउँका सर्वसाधारणहरू छिटोछिटो हिड्न आफूलाई र आफ्नो खुट्टालाई सन्तुलनमा राख्न सिपालु भैसकेका देखिन्थे। तर पनि भिरालो ठाउँमा, घाम नलाग्ने ठाउँबाट चिप्लेर कतिको दुर्घटना हुने तर गाउँमै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सानातिना प्राथमिक उपचारका लागि आवश्यक औषधीहरू उपलब्ध नभएको गुनासो गर्दै थिए, तल्लो तथा माथिल्लो लोर्पाका स्वयंसेवीकाहरू।
उनीहरू भन्छन् यो हिउँ अब वैशाख, जेष्ठसम्म पनि रहने हुन्छ। तर यतिञ्जेल उनीहरूलाई यो गाडी नचल्ने बाटोमा हिड्नु पर्ने बाध्यता छ। फेरि हिउँ प¥यो भने अझ त्यहाँ अर्को तह लाग्छ। घामले देखेको हिउँ भएको बाटो भने हिंड्न अलि सजिलो हुँदो रहेछ।