नोबेल शान्ति पुरस्कार पाउनुअघि र पाइसकेपछिका बाल अधिकारकर्मी कैलाश सत्यार्थीको जीवनमा के परिवर्तन आयो होला?
बालिका शिक्षाकी अभियन्ता पाकिस्तानी युसुफ मलालासँगै नोबेल पुरस्कार ग्रहण गर्न नर्वेको ओस्लोमा पुगेका सत्यायार्थीलाई पत्रकारहरूले यही प्रश्न गरेका थिए । नेपाली कांग्रेस संसदीय दलले शुक्रबार साँझ राजधानीमा उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा उनले नर्बेली पत्रकारहरूलाई दिएको जवाफ दोहोर्याए ।
‘मलाई मेरी पत्नीले एक कप चिया सर्धै दिन्छिन्,’ उनी बोल्दै गर्दा अगाडि उभिइरहेकी पत्नी सुमेधालाई देखाउँदै भने, ‘दोस्रो कप खानु पर्यो भने उनले हुन्न भन्छिन् । त्यसपछि म आफैं बनाएर ल्याएर खान्छु । तेस्रो कप पनि खान खोजे भने हाम्रो झगडै हुन्छ ।’
‘धेरै चियाले मलाई एसिडिटी हुन्छ,’ सुमेधाले उनीसँग झगडा गर्नुको कारण पनि खुलाइदिए, ‘उनी मलाई माया गर्छिन्, त्यसकारण पनि पनि थप चिया बनाएर दिन्नन् ।’
नोबेल पुरस्कार पाएपछि घरमा उनले चिया मागे । पत्नीले उनलाई एक कप चिया दिइन् । दोस्रो कप चिया पनि पत्नीले उदारतापूर्वक उनलाई मागेपछि दिइँन । तेस्रो कप उनले दिन्नन्, त्यसैले उनी आफैंले बताएर खानु पर्छ । उनले तेस्रो कप
पनि मागे । आफैं बनाएरु खाए होलान् भन्ने उनले ठानिन् । केही बेरमा उनले सोधिन्, ‘तिमीले चिया बनाएर खाएनौं ?’
पत्नीलाई उनले जवाफ दिएछन्, ‘बनाइँन् ।’
हो, उनीमा आएको परिवर्तन यही थियो । उनकी पत्नी र उनीबीच थप झगडा पनि भएन् । ‘मैले नोबेल पुरस्कार पाइसकेपछिको परिवर्तन यही हो,’ उनले भने, ‘अब मैले झगडा गर्न मिल्दैन ।’
‘अब म त शान्तिदूत भएँ,’ उनले भने ।
‘सुमेधाले मलाई त्यसपछि तिते करेलाको रस ल्याएर दिइँन्,’ उनले थपे, ‘मैले मीठो मानेर पिएँ ।’
‘आज त तिमीले कुनै गुनासो गरेनौं नि?,’ तितेकरेलाको रस पिउँदा पनि कुनै गुनासो नगरेपछि पत्नीले उनलाई सोधिन् । उनले जवाफ दिए, ‘अब म नोबेल शान्ति पुरस्कार विजेता भइसकेँ ।’
‘हो, यही नै मेरो जीवनमा आएको परिवर्तन हो,’ उनले भने ।
नोबल पुरस्कारले उनलाई थप विनयी बनाएको थियो । नोबेल पुरस्कार पाएपछि पहिलो पटक काठमाडौं आइपुगेका सत्यार्थीले त्यो पुरस्कार आफ्नो मात्र नभएको पटकपटक बताएर आफ्नो भद्रपनको परिचय दिएका दिए ।
‘पुरस्कार घोषणा भएको पहिलो दिनदेखि नै मैले प्रष्ट भन्दै आएको छु– यो पुरस्कार कैलाश सत्यार्थी नामको व्यक्तिका निम्ति मात्र होइन,’ उनले भने । ‘यो पुरकार सबै बालबालिका र तिनका क्षेत्रमा चुपचाप काम गर्दै आएका
कार्यकर्ताहरूका निम्ति हो ।’
नेपालसँगको उनको सान्निध्य सन् १९८२ देखिको हो । उनले नेपाली मानव अधिकारवादीहरूसँग मिलेर आफ्नो अभियानलाई अगाडि बढाउँदै आएका छन् । भारतीय रेडलाइट क्षेत्रबाट बालिकाहरूलाई उद्धार गर्नेदेखि अरू समस्यामा परेका बालबालिकाहरूलाई उनले सहयोग पुर्याउँदै आएका छन् ।
‘मैले नेपाली बालबालिकाहरू पनि भारतीय बालबालिकाभन्दा फरक पाइँन्,’ आफ्नो मुलुकमा बचपन बचाओ आन्दोलन मार्फत बालबालिकाको क्षेत्रमा क्रियाशील सत्यार्थीले नेपाल साइनोलाई सम्झदै भने । उनले गैर सरकारी संस्था सिविन, डिल्ली चौधरीको बेस आदिसँग काम गरेका अनुभव सुनाए ।
चौधरीलाई उनले आफ्नो ‘जेठो छोरा’ जत्तिकै भएको चित्रण गरे । उनी डिल्ली चौधरीसँगै बेसको कार्यक्षेत्र दाङलगायतमा जाँदै छन् । डिल्लीसँगको सम्बन्धका कारण आफूभन्दा बुढाहरूले पनि आफूलाई ‘पिताजी’ भन्ने गरेको रमाइलो सन्दर्भ पनि उनले सुनाए ।
‘नौजवान बालक पिताजी भइरहेको छ,’ उनले यसो भनिरहँदा उपस्थित व्यक्तिहरूबीच हाँसोको फोहरा छट्यो । उनलाई कांग्रेस नेता शेरबहादुर देउवालगायत नेपालका मन्त्री, उच्च प्रशासक, गैर सरकारी संस्थाका व्यक्तिले सुनिरहेका थिए ।
संयोग कस्तो परेछ भने पूर्व प्रधानमन्त्री देउवाले नै सात वर्षअघि आफू थुनामा परेका बेला उनको नाम नोबेल पुरस्कार निम्ति सिफारिश गरेका थिए । सत्यार्थीले यो खुलासा पनि गरे । तर, उनी आफैलाई पुरस्कार पाउँदैछु भन्ने कुनै जानकारी थिएन ।
उनी कार्यलयमै रहेका बेला एकजना पत्रकारले फोन गरेर भने, ‘कैलाशजी नोबेल प्राइज ।’ उनले यो भन्दा बढ्ता केही भन्न सकेनन् । सत्यार्थीको मनमा भने कसैले पाएको समाचार सुनाइरहेका छन् भन्ने उनले ठाने ।
उनै पत्रकारले उनीसँग नोबेल पुरस्कार पाएपछि कस्तो लाग्यो भन्ने प्रश्न सोधेपछि भने उनलाई अप्ठ्यारो भयो । आफूले थाहै नपाई कसरी प्रतिक्रिया दिने । उनले रमाइलो पाराले भने, ‘सबै कुराका जानकार गुगलबाबा पनि फेल भए, त्यहाँ पनि अघिल्लो वर्षको पुस्कार पाउने व्यक्तिको मात्र नाम थियो।’
तर, समाचार एकैछिनमा चौतर्फी फैलिइसकेको थियो । कार्यालयका अरू सहकर्मीले पनि थाहा पाए । एकैछिनमा अंकमाल गर्ने, खुसी हुने, चिच्याउने वातावरण त्यहाँ बन्यो । ‘त्यसपछि मलाई महसुस भयो,’ उनले भने, ‘ए यो त मलाई दिइएछ ।’
शाकाहारी सत्यार्थीका निम्ति बिहान पनि दुई तीन कप चिया नभई हुन्न । उनकै सम्मानमा आयोजित कार्यक्रममा महँगा पेय र परिकारहरू आगन्तुकलाई दिइरहेका बेला उनी भने चिया पिइरहेका थिए । यी साँच्चै गान्धीका अनुयायी हुन् । उनी दिनभरि नखाई पनि बस्न सक्छन् । तर, चिया अनिवार्य हुन्छ ।
चिया प्रशंग सेलाउन नपाउँदै उनले भने, ‘नेपाली साथीहरूको सहयोग बिना मैले यो पुरस्कार पाउन सम्भव थिएन ।’
नेपालका समेत बालबालिकाको सेवा गर्दागर्दै उनले ३२ वर्षमा नोबेल शान्ति पुरस्कार पाउन सफल भए । तर, शान्ति पुरकार पाएको यो खुसीयाली बाँड्न शुक्रबार नेपाल आइरहँदा भने उनको मनमा नेपालको संक्रमण काल अन्त्य भइदिए हुन्थ्यो भन्ने आशा गरिरहेका थिए ।
‘संक्रमणकालीन नेपालको यो नै मेरो अन्तिम यात्रा होस् भन्ने मैले सोचिरहेको थिएँ,’ उनले भने । उनले नेपाल आइपुग्नासाथ आफ्नो ट्विटरमा लेखेका थिए, ‘नेपालमा मेरा दिदीबहिनी र दाजुभाइ, छोरीहरू र छोराहरूलाई भेट्न पाउने भएकोले अत्यन्तै पुलकित छु । बुद्ध र पशुपतिनाथको सुन्दर र पवित्र भूभिमा भर्खरै आइपुगेँ ।’
सूचना प्रविधिको क्षेत्रमा आएको पछिल्लो लोकप्रिय सामाजिक सञ्जाललाई प्रयोग गरिरहेका यी अधिकारकर्मीले हाम्रा समस्याहरू हाम्रामात्र नभएको पनि चर्चा गरे । ‘अहिले संसारको कुनै पनि समस्यालाई छुट्याएर हेर्न सकिन्न,’ उनले अगाडि भने, ‘हाम्रा समस्या र समाधान एकअर्कासँग जोडिएका छन् ।’
पाकिस्तानमा निर्दोष स्कुले बालबालिकामाथि भएको आततायी हत्याप्रति सबैको नैतिक जिम्मेवारी भएको पनि उनले बताए । यी समस्या एकअर्कासँग नजोडिएका भए नेपाली बालबालिकाले भारतबाट उद्धार हुन उनीजस्ता व्यक्तिको सहयोग आवश्यक पर्ने थिए ।
‘कुनै एउटा देश दिगो हुन सकेन भने सिंगै संसार दिगो हुन सक्दैन,’ उनले भने ।
उनले उपस्थित जिम्मेवार नेताहरूलाई स्कुले शिक्षकले झै छवटा ‘इ’ बारे पनि सुनाए । ती हुन्ः एजुकेसन (शिक्षा), इम्प्लोइमेन्ट (रोजगारी), आन्टप्रेनरसिप (उद्यमशीलता), इफिसियन्सी (दक्षता), इक्वालिटी (समानता) र एथिकल (नैतिक) अभ्यास ।
‘यति भयो भने मात्र यो संसार बालबालिका निम्ति उपयुक्त हुन्छ,’ सत्यार्थीले आफ्नो भनाइ टुंग्याए । त्यसपछि सुरु भयो तस्विरको श्रृंखला । हाम्रा नेताहरू तस्विर खिचाउँदै थिए । किनभने यसअघि आउँदाभन्दा भिन्न नोबेल शान्ति पुरस्कार पाइसकेका सत्यार्थीसँगको यो फोटो अवसर थियो ।