व्यवस्थापिका–संसद्, विकास समितिको टोलीले आज बहुप्रतीक्षित र बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेको छ।
समितिका सभापति रवीन्द्र अधिकारको नेतृत्वमा गएको टोलीले सिन्धुपाल्चोकको हेलम्बु गाविसको तिम्बुस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा पुगी त्यहाँका कामकारबाहीबारे जानकारी लियो।
सो अवसरमा समितिलाई मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले हालसम्म २६ किमीमध्ये १० किमी सुरुङ खनिइसकेको जानकारी दिँदै विसं २०७३ पुसतिर काठमाडौँ पानी पुर्याउने लक्ष्यका साथ काम भइरहेको बताए। उनका अनुसार अहिलेसम्म आयोजनाका लागि रु १३ अर्ब खर्च भइसकेको र आयोजना सम्पन्न गर्न अझै रु १० अर्ब खर्च हुनेछ ।
काठमाडौँ उपत्यकावासीलाई दैनिक १६ करोड लि खानेपानी अपूर्ति गर्ने लक्ष्यका साथ १४ वर्षअघि सो आयोजना निर्माण सुरु गरिएको थियो। अहिले इटालेली ठेकेदार सम्पनी सिएमसीले सो आयोजनाको सुरुङ निर्माणलगायत अन्य भौतिकपूर्वाधारको काम गरिरहेको छ।
टोलीमा सभापति अधिकारीसहित सांसद गणेश पहाडी, शेरबहादुर तामाङ, रामचन्द्र पोखरेल, गुरुप्रसाद बुर्लाकोटीलगायत आयोजनाका पदाधिकारी थिए। रासस