सशस्त्र द्वन्द्वकालमा कब्जा गरिएको स्वर्गद्वारी आश्रमको जग्गा झन्डै १२ वर्षपछि फिर्ता भएको छ।
तत्कालीन विद्रोही माओवादीले स्वर्गद्वारी आश्रमका स्वामित्वको कोचिवाङमा रहेको एक सय ४० रोपनी जग्गा कब्जामा राखेको थियो।
विसं २०५८ मा कब्जा गरिएको सो जग्गा शान्ति प्रक्रिया सुरु भई जिल्लाका विभिन्न स्थानमा कब्जा जग्गा फिर्ता गरिएपनि सो आश्रमको जग्गा फिर्ता हुन सकेको थिएन।
पश्चिम नेपालको ऐतिहासिक तथा पर्यटकीय धार्मिक तीर्थस्थल स्वर्गद्वारीको कब्जा जग्गा फिर्ता नहुँदा नियमित आश्रम सञ्चालनमा समस्या हुने गरेको थियो।
स्थानीय शान्ति समिति प्यूठानको पहलमा कोचिवाङमै एक कार्यक्रमको आयोजना गरी कब्जा जग्गा फिर्ता घोषणा गरिएको संयोजक कृष्ण घिमिरेले बताए।
एकसाता पहिले गरिएको जग्गा फिर्ताको औपचारिक कागजमा एमाओवादी प्यूठानका तर्फबाट जिल्ला इन्चार्ज कृष्ण अधिकारीसहित पाँचजना, मोहीका तर्फबाट भीमबहादुर घर्ति र कृष्णबहादुर पुन तथा आश्रमका तर्फबाट लेखपाल वासुदेव भट्टराई र कोठारी हरि अधिकारीले हस्ताक्षर गरेका छन्। जग्गा फिर्ता भएपछि आश्रम सञ्चालनमा सहज हुने सरोकारवालाहरुको भनाइ छ। रासस