नेपाल विद्यार्थी सङ्घ पद्ममकन्या क्याम्पस एकाइले पूजा बोहरालगायत बलात्कृत महिलाको न्यायका लागि दबाब दिन बागबजार सडकमा चक्काजाम गरेर नाराबाजी गरेको छ।
सो क्याम्पसका विद्यार्थीले आज बिहान ९ बजेदेखि ९ः३० बजेसम्म सडकजाम गरेर 'महिला हिंसा अन्त्य गर' 'बलात्कृत घटनाका दोषीलाई कडा कारबाही गर' लगायतका नारा लगाउँदै बैतडीकी बलात्कृत महिला पूजा बोहरालाई उचित न्याय दिनुपर्ने माग गरेका छन्।
कार्यक्रममा एकाइ अध्यक्ष साधना घिमिरेले पद्ममकन्या क्याम्पस सदैव महिला हिंसाका विरुद्ध लडिरहेको बताउदै मुलुकमा बढ्दै गएका बलात्कारका घटना नियन्त्रणका लागि अब सबै महिला एकजुट हुनुपर्ने आवश्यकता औल्याइन्।
फितलो न्याय व्यवस्थाका कारण मुलुकभर महिलामाथि हुने हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै उनले त्यस्ता घटनाका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरिन्। रासस