बाल बालिकाहरुमा टिबी अर्थात क्षयरोगको संक्रमण बढ्दै गएको छ। स साना बालबालिकाहरु पनि टिबी रोगबाट संक्रमित भएर उपचारका लागि अस्पतालहरु आउने क्रम बढ्दै गएको छ। उपचारका लागि आउने बिरामी मध्ये करिब १० प्रतिशत बाल बालिका छन्।
नेपाल सरकारले क्षयरोगका बिरामीहरुका स्वास्थ्य परिक्षण र औषधी निशुल्क बितरण गर्दै आएपनि टिभी रोग निवारणका लागि संचालन गरेका कार्यक्रम प्रभाबकारी हुन सकेको छैन।
नेपालमा अझै पनि करिब २७ प्रतिशत क्षयरोगी स्बास्थ्य संस्थाको पहुँचभन्दा टाढा छन्। स्बास्थ्य संस्थाको पहुचमा नभएका बिरामीहरुबाट अन्य बिरामीहरुमा श्वास प्रश्वासमा माध्यमबाट क्षयरोग सर्ने भएकाले क्षयरोगको निबारणमा थप जटिलता उत्पन्न भएको चिकित्सकहरुले बताएका छन्।
नाबालक, बृद्ध, बढी तनाबमा रहेने ब्यक्ति का साथै स्वास्थ्य सम्बन्धी कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा क्षयरोग संक्रमण हुने संभाबना बढी हुन्छ। क्षयरोग सरुवा रोग हो। नेपालगन्ज सल्यानीबागकी उमा श्रेष्ठको घरमा ५ जनालाई क्षयरोग लागेको थियो। छोरा छोरी आफू र सासु गरी ५ जनालाई लागेको क्षयरोग नियमित औषधी खाएकै कारण सबै जना निको भएको उमाले बताइन्।
क्षयरोगका बिरामीहरुले ६ महिनादेखि ८ महिनासम्म नियमित औषधी खानुपर्छ। नियमित रुपमा औषधी न खाने बिरामीहरुमा कडा खालको क्षयरोगको समस्या देखिने गरेको छ।
गरिब तथा बिपन्न परिबारका दिनभर काम गर्नुपर्ने क्षयरोगीहरुले स्वास्थ्य संस्था खुल्ने समयमा स्वास्थ्य संस्थामा गएर औषधी खान नसक्ने भएकाले बिरामीहरुले कोर्ष पुरा नहुदै औषधी खान छाड्ने समस्या जटिल बन्दै गएको छ।
एक पटक टिबी रोग भए पछि औषधी खान छोडेका बिरामीहरुमा सामान्य औषधीले काम नगर्ने समस्या बढी हुन्छ।त्यस्ता टिबीका बिरामीलाई एमडिआर भनिन्छ।
एमडिआर भएका बिरामीले २० महिनासम्म एक दिन पनि नछुटाएर औषधी खानुपर्ने टिबी नेपालका निर्देशक डा सुशिल कोइरालाले बताए।
टिबी नेपालद्धारा नेपालगन्जको सल्यानीबागमा सञ्चालित क्षयरोग उपचार केन्द्रमा साउन महिनादेखि कार्तिक मसान्त सम्म क्षयरोग को उपचारका लागि आएका १० हजार ४ सय ३५ जना बिरामी मध्ये २ सय ७८ जनामा क्षयरोगका नया बिरामी भएको केन्द्रले जनाएको छ।
टिबी नेपाललेउपचारका लागि आएका बिरामी मध्य गरिब तथा बिपन्न १ हजार ४ सय ५८ जना बिरामीको निशुल्क उपचार गर्नुका साथै खाने बस्ने र यातायात खर्च समेत उपलब्ध गराइएको जनाएको छ।