जिल्लाका निजी विद्यालयमा एसएलसीको परीक्षाफल सन्तोषजनक नभएकाले त्यसमा पढ्ने विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेका छन्। अभिभावकहरूले महँगो शुल्क तिर्न बाध्य बनेपनि एसएलसीमा आफ्ना बालबालिका अनुर्त्तीण भएकाले उनीहरूले सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेका हुन्।
नयाँ शैक्षिक सत्रमा जिल्ला निजी विद्यालयमा अध्ययनरत तीन हजारभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना भएका हुन्। जिल्लाका सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्न थालेका हुन्।
तानसेनस्थित जनता नमुना उच्च माध्यमिक विद्यालयका प्राचार्य मेघराज पौडेलले नयाँ शैक्षिक सत्रमा कक्षा १ देखि कक्षा १० सम्म २०० भन्दा बढी निजी विद्यालयका विद्यार्थी भर्ना भएको बताए।
तानसेनस्थित मोहनकन्या उच्च माध्यमिक विद्यालयका प्राचार्य दीपक ज्ञवालीले यस शैक्षिक सत्रमा १० जनाभन्दा बढी निजी विद्यालयबाट भर्ना हुन आएको बताए।
जिल्ला सरदमुकाम तानसेनका नाम चलेको जनता नमुना उच्च मावि, पद्म पब्लिक उच्चमावि, सेन उच्चमावि महेन्द्रबोधि उमावि र वेद माविलगायतका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि निजी विद्यालगमा अध्ययन गर्दै आएका विद्यार्थी सामुदायिक विद्यालयमा आएका हुन्।
यता निजी विद्यालय सञ्चालकहरूले विद्यार्थी सङ्ख्या विगतको तुलनामा कमी नभएको बताएका छन्। रासस