काठमाडौंको ठमेलस्थित ज्याठामा डेरा गरी बस्ने काभ्रेकी १९ वर्षीया सरस्वती कार्की साँझपख ठमेल र रत्नपार्क क्षेत्रमा निस्कन सक्तिनन्।
कहिलेकाँही डेरा जाने बेलामा साँझ रत्नपार्कमा माइक्रोबाट ओर्लिएपछि उनले अनेक प्रकारका दुर्ब्यवहार झेल्दै कोठासम्म पुग्नुपर्छ।
रत्नपार्कको सामुन्ने महानगरीय प्रहरी आयुक्तको कार्यालय छ। प्रहरी कार्यालयको नाकैमा उनले मात्र होइन साँझपख त्यस बाटो भएर हिड्ने अधिकांश महिला र युवतीले दुर्ब्यबहार सहनुपर्छ।
तेस्रो लिंगीका साथसाथै अन्य युवाहरुले साँझपख महिलालाई अश्लिल शब्द प्रयोग गरेर जिस्काउने, ठाडै यौन प्रस्ताव गर्ने जस्ता दुर्ब्यवहार अहिलेदेखि मात्र होइन वर्षौदेखि चल्दै आएको छ।
रत्नपार्क, आकाशेपुल, सुन्धारा, ठमेल र नयाँ बसपार्क यौन अखडा बन्ने गरेको भन्दै त्यस क्षेत्रका स्थानीयले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम कार्कीको ध्यानाकर्षणसमेत गराएका छन्।
उनीहरुले साँझपख चेलीबेटी हिड्ने वातावरण बनाएदिन प्रहरी समक्ष विन्ती गरेका छन्। काठमाडौं २३ का कृष्णबहादुर मानन्धरले चेलीबेटीको त के कुरा आफैलाई साँझपख त्यस क्षेत्र भएर हिडडुल गर्न समस्या भएको बताए। उनले चेलीबेटी हिड्ने समयमा सुरक्षा दिन एसएसपी कार्कीको ध्यानाकर्षण गराएको समेत बताए।
नयाँ बसपार्क, रत्नपार्क, सुन्धारा र केशरमहलचोकमा साँझ साढे ५ बजेदेखि नै यौनका लागि मोलमोलाइ हुने उनको दाबी छ। यस्ता सामाजिक विकृति रोक्न प्रहरीले सक्रियता देखाउनुपर्ने महर्जनको दाबी छ।
रत्नपार्कको खुल्ला चौर र आकाशेपुलमा रातको ८ बजेपछि लेस्रोलिंगीले अश्लिल क्रियाकलाप गर्ने उनको दाबी छ। काठमाडौं १८ का धनबहादुर महर्जनले पनि रत्नपार्क क्षेत्रमा बढ्दै गएको विकृति रोक्न प्रहरीले रोक्न नसकेको भन्दै गुनासो गरे। रत्नपार्क, सुन्धाराका साथसाथै आर्युबेर्दिक अस्पताल नजिकैको सामूदायिक गल्लीका खोलिएका भट्टी पसलहरुमा अनैतिक काम हुने महर्जनले बताउँछन्।
रत्नपार्क, क्षेत्रमा त साँझपख मात्र यस्तो हुन्छ, महर्जनले भने सुन्धारा र ठमेलका होटलमा दिउँसै अनैतिक कार्य हुदाँ प्रहरी मौन छ। काठमाडौं प्रहरी प्रमुख कार्की भने रत्नपार्क, सुन्धारा नयाँबसपार्क, ठमेल क्षेत्रमा अनैतिक कार्य हुने स्वीकार गर्छन्।
वातावरण दुषित गर्नेलाई कारबाही गर्न उनले दरबारमार्ग प्रहरी र जनसेवा वृतलाई निर्देशन दिइसेकेको बताए। ठमेलमा यौनधन्दा गर्नेलाई पक्राउ गरी कारबाही गरेपनि त्यो कम नभएको उनले बताए। उनले भने, …पटक पटक पक्राउ गछौं केहीलाई सार्वजनिक मुद्दासमेत चलाउँछौ, फेरि छुट्ने वित्तिकै फेरि त्यही काममा फर्कनछन्, कानुन बलियो नहुँदा हामीले केही गर्न सकेका छैनौँ।'
सार्वजनिक ठाँउमा आपत्तिजनक अवस्थामा भेटे प्रहरीले धपाउन बाहेक अरु केही गर्न नसक्ने उनी बताउँछन्। चेलीबेटी हिडने साँझको समयमा त्यस्ता क्षेत्रमा प्रहरी बढी मात्रामा परिचालन गरिएको उनले जानकारी दिए।
सुन्धारा, ठमेल र नयाँ बसपार्कमा गरी झन्डै ५ सय होटल लज, मसाज सेन्टर र भट्टी पसलमा यौनधन्दा हुने प्रहरीको दाबी छ।