जिल्लाको सदरमुकाम खाँदबारीमा जिल्लाकै ठूलो तथा सुविधासम्पन्न १५ शय्याको निजी अस्पताल सञ्चालनमा आएको छ।
गोपालभगत प्रधान मेमोरियल नाम रहेको जिल्लाकै पहिलो विशेषज्ञ सेवासहितको २४ घन्टा खुला रहने अस्पतालमा तीन वरिष्ठ चिकित्सक रहने अस्पताल सञ्चालक समितिका अध्यक्ष कृष्णभगत प्रधानले बताए।
भरपर्दो र सुविधासम्पन्न अस्पताल जिल्लामा नहुँदा जिल्लावासीले उपचारका लागि जुन कष्ट उठाउनुपर्थ्यो त्यसको अन्त्य हुने ठोकुवा गर्दै प्रधानले भन्नुभयो— “जिल्लामा सम्पूर्र्ण सुविधा भएको अस्पताल नहुँदा जिल्लाका उत्तरी गाविस किमाथांका, चेपुवा, हटियागोला, पावाखोला, मकालुका बासिन्दाहरु छिमेकी राष्ट्र चीनको डेन्दाङ र रिउ सहर जाने गर्दथे भने, दक्षिणी तथा पूर्वी गाविसका बासिन्दाहरु धरानको घोपा क्याम्प जाने गदर्थे।”
पन्ध्र शय्याको अस्पतालमा विशेषज्ञ सेवा, भिडियो एक्स–रे, आधुनिक प्रयोगशाला, इसिजी सेवा, दन्त तथा आँखा परीक्षण, शल्यक्रिया साथै इन्डोर सेवाहरु सञ्चालनमा ल्याएको अस्पताल प्रशासनले सञ्चारकर्मीलाई जानकारी दिएको छ।
जिल्लामा सुविधासम्पन्न अस्पताल नहुँदा विकट पहाडी गाविसका बिरामीहरुले तत्काल उपचार नपाउँदा अकालमै ज्यान गुमाउनपर्थ्यो, उपचारका लगि हवाईजहाजको माध्यमबाट काठमाडाँै जानुपर्थ्यो जुन खर्चिलो पनि हुन्थ्यो त्यो समस्या अब टरेको बताउछन्– धुँपुँका जीवन वयलकोटी।
अस्पताल सञ्चालन भएपछि सङ्खुवासभा जिल्लाका मात्रै हैन छिमेकी जिल्ला भोजपुरका १५ भन्दा बढी गाविसका बासिन्दालाई समेत उपचारका लागि सजिलो भएको नेपालेडाँडाका समीर सुवेदीले बताए। रासस