नेपाल भारत सीमा क्षेत्र हुँदै बग्ने मोहना नदी केही वर्ष अघि खक्रौला भन्सार कार्यालयको कम्पाउण्डबाट झण्डै दुई किलोमिटर टाढा थियो। तर अचेल नदी किनार भन्सार कार्यालयबाट झण्डै २० मिटर मात्रै टाढा छ। यो वर्षको बाढीले मात्रै नेपाल तर्फको २ मिटर भूभाग काटेको छ।
अहिलेसम्मको सबैभन्दा ठूलो मानिएको २०४० सालको बाढी पछि मोहना नदीले कटान तिब्र पारेको हो। नदीले सुरुमा भारततर्फको भूभाग समेत कटान गरेको थियो। तर पछि भारतले नदी नियन्त्रणका लागि पहल गरेपछि मोहनाले नेपाल तर्फको भुभाग वर्षेनी काटिरहेको छ।
नेपालतर्फको भूभाग कटानी रोक्नका लागि कुनै पहल भएको छैन। केही सिमित ठाउँमा तटबन्ध गरिएको भएपनि त्यो नदीले बगाएर लगेको छ।
नदीले नारायणपुर गाविसको वडा नम्बर ५ र ९ तथा धनसिंहपुर गाविसको ६ र ८ वडाको भूभागलाई बढि प्रभावित पारेको छ। नदी कटानकै कारण ती वडाका झण्डै सय भन्दा बढि घरपरिवार विस्थापित भैसकेका छन्। उनीहरुको खेतीयोग्य जमिन समेत नदीले बगाएको छ।
नेपालतर्फको धेरै जमिन नदीले कटान गरेको धनसिंहपुर गाविसका पूर्व अध्यक्ष जंगबहादुर साउँद बताए। 'हामीले हेर्दा हेर्दै वर्षेनी धेरै खेतीयोग्य जमिन बगाईरहेको छ' उनले भने–'नदी नियन्त्रणको प्रयास हुन सकेको छैन।'
भन्सार कार्यालयको कम्पाउण्डमा नदी पुगेपछि कतिबेला कार्यालय बगाउने हो भन्ने चिन्ता बढेको छ। कार्यालयका प्रमुख तारानाथ ओझाले भन्सार कार्यालय अन्यत्र सार्नुको विकल्प नरहेको बताए।
'हामीले कार्यालयको अवस्थाका बारेमा माथिल्लो निकायमा जानकारी गराएका छौं' उनले भने–'प्रमुख जिल्ला अधिकारी लगायतको टोलीले स्थलगत निरिक्षण गरेको छ।'
भन्सार कार्यालयसँगै जोडिएको भानुभक्त निमाविको भवन समेत नदी कटानको सिकार हुने सम्भावना छ। कुनैबेला निकै सुरक्षित स्थान भनेर स्थानीयले सो स्थानमा विद्यालय स्थापना गरेका थिए।
'विद्यालय स्थापना गर्दा यो स्थान सुरक्षित भन्ने लागेको थियो' स्थानीय खडक साउँदले भने–'अब अर्को वर्षसम्म त विद्यालय जोगाउन सकिदैन होला।'
नदीले नेपालतर्फको भूभाग कटान तिब्र पारेपछि सीमा क्षेत्रमा निर्माण भैरहेको पुल समेत प्रभावित बनेको छ। केही वर्षअघि नदीको धार अनुसार पुल निर्माण भैरहेकोमा हाल नदीले नेपालतर्फ बढि कटान गर्न थालेपछि पुल प्रभावित बन्ने सम्भावना बढ्दै गैरहेको छ।
'पहिलेको आधारमा पुल निर्माण भयो। अहिले त नदी धेरै यता आईसकेको छ' पूर्व अध्यक्ष साउँदले भने–'समयमै नदी कटान नियन्त्रण नगर्ने हो भने भएको भौतिक संरचना पनि जोगाउन सकिएला जस्तो छैन।'
नदी कटान नियन्त्रणका लागि स्थानीयले पटक पटक जिल्ला विकास समिति लगायतमा आग्रह गरेका छन्। उनीहरुको आग्रहलाई न हिजो कसैले सुन्यो न आज सुनेको छ। नदी कटान रोक्नका लागि पहल गरिदिन आग्रह गर्दा गर्दै थाकेका स्थानीयसँग घर सार्नुको कुनै विकल्प छैन।