यो मौसममा पहिलो पटक हिऊ परेको भोलिपल्ट आइतबार जुम्लाका डाँडाहरू सेतैसेतै देखिएका छन्। सूर्यको किरणले यी डाँडाहरू असाध्यै चम्किला देखिएका छन्।
जुम्लामा एकदेखि डेढ फिट बाक्लो हिऊ परेपछि शनिबार यहाँको जनजीवन तुरून्तै प्रभावित भयो। हिजोको त्यो प्रतिकूल मौसम आइतबार भने एकाएक फेरिएको थियो। बिहानैदेखि यहाँ घाम लागेको छ। हिऊमा परेका घामका किरणहरूको प्रतिबिम्बले यहाँको दृश्य मनमोहक देखिएको छ।
जताततै सेतैसेतै डाँडाहरू देखिएका छन्। यहाँ हरेक व्यक्ति यति धेरै व्यस्त भएका छन् कि मानौं घरमा हिऊ नयाँ पाहुना बनेर आएको छ। कोही छाना सफा गरिरहेका छन् त कोही सडक। तन्नेरीहरू हिऊसँग खेलिरहेका छन्। अनि बालबालिकाहरू विना मोजा र पञ्जा हिऊको थुप्रोमा चिप्लेटी खेल्दै छन्।
छानामा रहेको हिऊ पग्लेको तप्केनी झर्दा वर्षादकै झझल्को आउँछ। अनि हिऊको ठूलो ढिक्का छानाबाट पग्लेर झर्दा त अलिअलि होहल्लै पनि गर्ने रहेछ। कुकुर र चराह पनि हिऊमा रमाइरहेको देखिन्छ। मानिसहरू कोही घाम तापिरहेका छन्।