नेपालगञ्ज कारागारमा कैदीबीच झडप हुँदा चार कैदी घाइते भएका छन्। कारागारका चौकीदार डम्वर शाही लगायत चार जनाको सरुवा माग गर्दै बुधबार दिउँसोदेखि गेटमा ताला लगाएर प्रदर्शनमा उत्रिएका थिए।
प्रमुख जिल्ला अधिकारीको रोहबरमा प्रहरी नायव उपरिक्षक प्रेम बस्नेत, जेलर जय बहादुर हितानले वार्ताका लागि पहल गरेर वार्ता भएपनि सरुवा गरिनु हुँदैन भन्ने पक्ष र विपक्ष वीच बिबाद चुलिदाँ झडप भएको हो।
झडपमा परी घाइते हुनेमा भोला महाउत, त्रिभुवन लोनिया, समिर खाँन र ईजामुद्धिन खान घाईते भएको प्रहरीले जनाएको छ। घाईते मध्ये भोला र समिरको टाउकोमा गम्भिर चोट लागेको अस्पतालले जनाएको छ। अन्य दुई जनाको अवस्था सामान्य छ।
रनियापुर निवासी समिर र ईजामुद्धिन अपहरणको मुद्धामा जेल सजाय भोगिरहेका बन्दी हुन् भने भोला ज्यान मार्ने मुद्धा तथा त्रिभुवन हात हरियार सम्बन्धी मुद्धामा जेल सजाय भोगेका बन्दी हुन्। चारै जना घाईतेको भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ।
दिउसो कैदी जनक वुढाका आफन्त भेटघाटमा आएका बेला भेट्ने समयावधी छोट्याउ भन्ने प्रहरीको भनाई पछिको बिबाद सुरु भएको प्रहरीले जनाएको छ।
झडप बढ्न नदिन प्रमुख जिल्ला अधिकारी ओलीले कारागार भित्रै प्रहरी पठाएर घटना साम्य पारेका छन्।
कैदीहरुका मागहरु पुरा गर्दा पर्नसक्ने असर र प्रक्रियाका बारे छलफल चलिरहेका बेला बुधबार बेलुकी कैदीहरु बिच झडप भएको प्रमुख जिल्ला अधिकारी ओलीले बताए। उनले थप घटना हुन नदिन कारागार कार्यालयमा सुरक्षा सर्तकता बढाइएको बताए।