अलकुवेत क्लिनिङ कम्पनीमा काम गर्ने दर्जनौ नेपाली युवा फाहिइलस्थित एक नक्कली ट्राभल एजेन्सीको शिकार भएका छन । उनीहरुले घर जान भनी लिएको हवाईटिकट जाली भएको थाहा भएको छ । अहिले उक्त स्थानमा रहेको ट्राभल एजेन्सी बन्द छ । जुलाई दुई तारिखका दिन नेपाल जान भनी हिँडेका दुई युवा कुवेतको विमानस्थलबाट फिर्ता भएपछि मात्र टिकट लिएका सबैले आफूहरु ठगिएको चाल पाएका थिए ।अल कुवेत वेस्ट एण्ड क्लिनिङ कम्पनीमा काम गर्ने यी नेपाली कामदारले यहाँका स्कुलहरुमा सरसफाइको काम गर्छन् । जुलाईबाट अगष्ट सम्म स्कुलहरु गर्मीका कारण बन्द हुने भएकाले उनीहरुलाई कम्पनीले यही सिजनमा छुट्टी दिन्छ । यसरी एउटै समयमा पर्ने छुट्टीमा प्राय सबैजसो सँगै घरजान पाउने भएकाले समूहमा उनीहरुले टिकट खरिद गरेको बताए ।
उनीहरुले लिएको ट्राभल टिकट हालको प्रचलित हवाइ टिकटदर भन्दा सस्तो देखिएको छ । केही सस्तोमा टिकट पाएको कारणले पनि ठूलो संख्यामा उनीहरुले सो ट्राभलबाट टिकट लिएको बुझिएको छ । तर, उनीहरुले ठगीमा परिएला भनेर अनुमान पनि गरेका थिएनन ।
कुवेतको फाहिइलस्थित नेपाली रेष्टुरेन्टसँगैको बिल्डिङको तल्लो तलामा रहेको कन्ट्री ट्राभल्सबाट लिएको टिकट ओमन एयरलाईन्सको हो । ओमन एयरलाइन्सले उक्त ट्राभललाई सम्बन्धन नदिएको जवाफ पाएको पिडितहरुले बताएका छन् । उनीहरुले हवाई टिकट खरिद गरेको कन्ट्री ट्राभल्समा भने ताला मारिएको छ ।
पीडित राजन अधिकारीले भने, 'मेरो जानकारीमा ६० जना भन्दा धेरै ठगिएका छौं, त्यसमा कसैले दोहोरो त कसैले एकोहरो टिकट खरिद गरेका रहेछन् । दोहोरो टिकटका लागि ९४ केडी, नेपाली झण्डै तीस हजार र एकोहरो टिकटका लागि कतिपयले ५५ तअधिकांशले ५९ केडी, झण्डै अठार हजार नेपाली रुपैयाँ तिरेका छन् । यसरी ठगाइमा पर्ने सम्पर्कमा आएकामध्ये राजन अधिकारी कास्की, नारायण अधिकारी संखुवासभा र बालकृष्ण अधिकारी तनहुँले दोहरो टिकट ९४ केडी तिरेर लिएको बताए ।
यसरी नै हितमान विक कपिलबस्तु, प्रकाश दवाडी गोरखा, समन्त अधिकारी कास्की, गणेश खड्का संखुवासभा, उमेश सहानी धनुषा, भीमलाल काफ्ले चितवन, भक्तबहादुर सार्की गोरखा, जीतबहादुर सार्की गोरखा, कृष्णबहादुर सार्की गोरखा, राजेन्द्र शाह गोरखा र राजकुमार महत्तो महोत्तरी पनि ठगीमा परेका छन् ।
दसौं हजार क्लिनरहरु रहेको यस कम्पनीमा नेपाली क्लिनरमात्र २ हजारभन्दा धेरै रहेको बताइन्छ । उक्त कम्पनीमा नेपाली महिलाहरु पनि लगभग २ सय छन् । जम्मा ६० केडी अर्थात आठ घण्टाको सुख्खा १८ हजार मासिक तलब खाने उनीहरुको पीडा कहाँ पोख्ने भन्ने पनि उनीहरुलाई थाहा छैन । पुलिसमा उजुरी गर्दा केस फत्ते नभएसम्म घर जान नपाइने हल्लामा उनीहरु त्यसो पनि गर्न चाहिरहेका छैनन् । उनीहरुको आफ्नो पैसाले खरिद गरेको टिकटको विषयमा कम्पनीमा खबर गर्न पनि उनीहरु लाभदायक हुने विश्वास राख्दैनन् । घर जान फेरि अर्को टिकट खरिद गर्ने कि के गर्ने भन्ने जवाफ अहिले उनीहरुसँग पनि छैन । ठगाइमा परेका सवैजसो दुई देखि ४ बर्ष पहिले देखि कुवेतमा कार्यरत रहेको बताउँछन् ।
उनीहरु ठगिएको उक्त घटनाका सम्बन्धमा नेपाली दूतावासले के गर्न सक्छ भनी राजदुत मधुवन पौडेलसँग राखेको जिज्ञासामा उनले भने, 'पिडितहरु खरिद गरिएको टिकट र निबेदनका साथमा दूतावासमा आए निजहरुले काम गर्ने कम्पनी र ओमन एयरसँग हामी बुझ्छौं ।'