कैलालीमा हालसम्म डेंगु रोगका कारण २ जनाको ज्यान गएको छ भने ३५ जना बिरामी परेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०६७/०६८ मा १ र २०६९/०७० १ गरी २ जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा २ जना पुरुष रहेका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले २०६७ बाट जिल्लामा डेंगुका बिरामी भेटिएको जनाएको छ। उसले आर्थिक वर्ष २०६७/०६८ मा २४ जना डेंगुका बिरामी भेटिएको बताएको छ।
त्यस्तै आर्थिक २०६८/०६९ मा १ र २०६९/०७० मा ९ जना डेंगुका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका औलो निरिक्षक प्रेमबहादुर सिंहले जानकारी दिएका छन्।
धनगढीस्थित सेती अञ्चल अस्पतालमा मात्रै डेंगुको उपचार हुने भएपछि कैलालीका ग्रामीण क्षेत्रका अलावा डोटी, कञ्चनपुर लगायतका जिल्लाबाट बिरामी आउने गरेका छन्।
आर्थिक वर्ष २०६७/६८ मा पहिलो पटक नेपालको चितवनमा यो रोग देखा परेको थियो। सोही वर्ष बाँके, नवलपरासी, रुपन्देही र कैलालीमा समेत डेंगु देखा परेको थियो।
एडिस एजिप्टाई नामको पोथी लामखुट्टेले मानिसलाई टोक्दा डेंगु हुने गरेको स्वास्थ्यकर्मी बताउछन्। यो लामखुट्टेले मानिसलाई दिउसोको समयमा टोक्ने गरेको समेत स्वास्थ्यकर्मी बताउँछन्। यो लामखुट्टे जमेको पानीमा भेछिन्छ।
एडिस एजिप्टाई लामखुट्टेले टोकेमा असाध्यै टाउको दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरु दुख्ने, शरिरमा विमिरा आउने जस्ता लक्षण देखापर्ने गरेको वरिष्ठ जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले जानकारी दिएका छन्।