पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न पाँच जनालाई जिल्ला अदालत दैलेखले कैद सजाय सुनाएको छ।
न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले जयबहादुर शाही,हरिलाल पुन निरकबहादुर घर्तीमगर, लक्षीराम घर्तीमगर र वीरबहादुर घर्तीमगरलाई हत्यामा संलग्न भएको ठहर गरी कैद सुनाएको हो।
शाही, पुन र निरक घर्तीमगरलाई अदालतले दुई वर्ष कैद सजाय सुनाएको छ। उनीहरुलाई घटनास्थलमा मुकदर्शक भएर बसेको मा डेढ वर्ष र लास गाड्न सहयोग गरेको कसुरमा ६ महिना गरी दुईवर्ष कैद सजाय गरेको छ।
त्यस्तै लक्षीराम घर्तीमगरले अनुसन्धानको क्रममा प्रहरी र अदालतलाई थापा हत्याको विस्तृत जानकारी दिएकोले कम सजाय सुनाएको छ।
उनलाई थापा हत्या हुँदा मुकदर्शक भइ बसेकोमा एकवर्ष मात्रै कैद सजाय दिएको छ, भने लास गाडेकोमा भने ६ महिना नै कैद सजाय सुनाएको छ।
पत्रकार डेकेन्द्र थापाको हत्या कसरी गरिएको थियो भन्नेबारे अभियुक्तहरुले अधिकारप्राप्त अधिकारी समक्ष गरेको बयानको सम्पादित अंश :
लक्षी घर्ती मगरको बयान
पत्रकार डेकेन्द्रराज थापालाई २०६१।४।२७ गते मेरो घरमा ल्याई पुर्याएका हुन्। सो दिनको बिहान निजले मेरो घरमा आलु र लौकाको तरकारी काट्दै हुनुहुन्थ्यो। सोही बेला १०:१५ बजेको समयमा जिल्ला दैलेख कट्टि गाविस १ घर भएका भएका मुक्ति भन्ने बमबहादुर खड्का छिउडीपुसाकोट-१ बस्ने अरुण भन्ने बमबहादुर खड्का, केशव खड्का आए। निजहरुले मेरो घरमा रहेका पत्रकार डेकेन्द्रराज थापालाई लिई मेरो घर मुनी रहेको ने.रा.प्रा.बि.मा लिई जानु भयो।
हामीहरु बालुवाटार- ६ मसार बस्ने वीर बहादुर के.सी, ९ बस्ने निरक पुन, द्धारी- ३ बस्ने हरिलाल पुन, रानीवन- १ बस्ने जयबहादुर शाही, द्धारी गाबिस घर भई हाल कोहलपुर बस्ने भक्तिराम लामीछाने समेतलाई आज यो पत्रकारलाई सोधपुछ गर्नुछ तपाईहरु पनि आउनुहोस् भनेकोले हामी ने.रा.प्रा.बि. (नजिकैको स्कुल) मा गयौँ। निज पत्रकारलाई तैले ज्ञानेको कार्यक्रम किन चलाएको, खानेपानीबाट उठाएको चन्दा खोई भनि लाठी, मुक्का, सिस्नो र लात्तीले हानी सोधपुछ गर्ने क्रममा अरुण भन्ने बमबहादुर खड्काले निज डेकेन्द्रको अण्डकोषमा लात्तीले हिर्काउँदा निज बेहोस भई लडे। त्यसपछि निजलाई हामी सबै माथी उल्लेखित ९ जना भई हात खुट्टा समातेर उचाली मेरो घरको पिँढिमा लग्यौ। घरमा पुर्याएपछि डेकेन्द्रराज थापाले पानी भनेर कराए। मेरो श्रीमतीले पानी खुवाएपछि शरीर सबै सुन्निएर सिथिल भयो। त्यसपछि जयबहादुर शाही र हरिलाल पुन मगरले नाडी छामी यो त गयो भनेपछि त्यहाँ उपस्थित हामी ९ जना मिलेर मेरो घरबाट उत्तर शसिराम घर्ती मगरको जग्गाको आसपासको भिरालो स्थानमा पालै पालो खाल्डो खनी गाडेका हौं।
निरक बहादुर घर्ती मगरको वयान
पत्रकार डेकेन्द्रराज थापा अपहरण भएको कुरा थाहा थियो। मिति ०६१/४/२७ गते दैलेख द्धारी- ८, भाँडे भन्ने ठाँउमा माओवादी पार्टीको जिल्ला भेला भएको थियो। सो जिल्ला भेलाबाट फर्कने क्रममा दिउँसो तिर म र बीरबहादुर के.सी ने.रा.प्रा.बि.मा पुग्यौं। त्यहाँ पुग्दा साथीहरु मुक्ती भन्ने बमबहादुर खड्का, केशव खड्का, जय बहादुर शाही, हरिलाल पुन मगर, भक्तीराम लामीछाने, अरुण भन्ने बम बहादुर खड्का, लक्षीराम घर्तीमगर समेत थिए।
हामी पुग्दा पत्रकार डेकेन्द्रराज थापालाई सोधपुछ गर्दै थिए। केहीबेर सोधपुछ गर्यौं र निजको अवस्था नाजुक भएर आयो। हामी सबैले हातले उठाई हात खुट्टा झुण्डाएर लक्षीराम घर्तीको बाहिरी कोठा बरण्डामा राख्यौँ। त्यसपछि निज पत्रकारले पानी भनेपछि लक्षीरामकी श्रीमतीले लोटामा पानी ल्याई मुखमा हालीदिईन। त्यसपछि हाम्रो साथी वीरबहादुर के.सीले यिनलाई मार्ने आदेश थियो थिएन भनेर सोध्नुभयो। डेकेन्द्रराज थापालाई हामी सबै जना साथीहरु मिली लक्षीराम घर्ती मगरको उत्तर शसिराम घर्ती मगरको जग्गा नजिक खाल्डो खनी गाड्यौँ।
वीरबहादुर के.सी.को वयान
पत्रकार डेकेन्द्रराज थापालाई अपहरण गरिएको सम्बन्धमा मलाई थाहा थिएन। दैलेख द्धारी, ८ को भाँडे भन्ने स्थानमा ने.क.पा.माओवादीको जिल्ला कमिटीको सम्मेलनमा मेसमा काम गर्न भनि गएको थिएँ। त्यहाँबाट २:३० बजे पछि म द्धारी गा.बि.स वडा नं. १ डाँडातर्फ जाँदै थिएँ। ने.रा.प्रा.बि.नजिक पुग्दा रोईकराई चिच्याएको आवाज आयो र आवाज आएको तर्फ अलि छिटो गएँ। त्यहाँ पुग्दा डेकेन्द्रराज थापा खैरो रंगको डोरा कट्टु माथी सेण्डो गन्जी लगाएको अवस्थामा शरीर भरी निलडाम दुबै गोडा सुन्निएको अवस्थामा हुनुहुन्थ्यो। उहाँलाई पिट्दा कराउने चिच्याउने अन्य अवस्थामा अर्धचेत हुनुहुन्थ्यो। मुक्ति भन्ने बमबहादुर खड्काले मलाई समेत चर्को आवाजमा हकारेर समाउन सहयोग गर्न आदेश दिए। हामी सबै भई डेकेन्द्रराज थापालाई नजिकै रहेको लक्षीराम घर्ती मगरको घरको बाहिरी दलानमा राख्यौ। त्यसै बीचमा डेकेन्द्रराज थापाले पानी भनि कराए पछि निज लक्षीराम घर्तीको श्रीमती अमृता घर्तीमगरले लोटामा पानी ल्याई डेकेन्द्रको मुखमा हालि दिईन। त्यसपछि कमरेड मुक्तीसँग सामान्य वादविवाद भयो। त्यसको १५/२० मिनेटपछि निज डेकेन्द्रराज थापा मरे जस्तो लागेपछि निजलाई म लगायत अन्य साथीहरु भई लक्षीराम घर्तीको घरबाट कोदालो लगी द्धारी- १ स्थित लक्षीराम घर्तीको घर नजिक खाडल खनी गाडेका हौं।
हरिलाल पुन मगरको वयान
डेकेन्द्रराज थापाको हत्याको बारेमा केही भन्न चाहन्न। वारदात मितिमा म कार्यक्षत्र अवलपराजुल तिर पुगिसकेको थिएँ। वारदातमा म संलग्न थिईन, लक्षिराम घर्तीले भने बमोजिम डेकेन्द्रराज थापालाई मर्यो भनी मैले भनेको होइन।
प्रतिवादी जयबहादुर शाहीको वयान
पत्रकार डेकेन्द्रराज थापाको हत्यामा मुक्ति भन्ने बमबहादुर खड्कासमेत संलग्न थिए भन्ने सुनेको हुँ। घटना हुँदा म थिईन। लक्षिराम घर्तीले मलाई किन थिए भने म जान्दिनँ। निजसँग रिस राग, पूर्वाग्रह, लेनदेन छैन थिएन।
निरकबहादुर घर्ती मगरको वयान
म घटनास्थलमा पुग्दा डेकेन्द्रराज थापा सिथिल थिए। अरुण भन्ने बमबहादुर खड्काले एक पटक हाने निजलाई गाड्दा निजको मृत्यू भईसकेको थियो।
कागज गर्ने मानिसहरुको कागज व्यहोरा
शसिराम घर्तीमगरको कागज
मिति २०६१ साल साउन भाद्र तिर हो मलाई महिना र गते यकिन भएन मेरो घर नजिक बस्ने लक्षीराम घर्तीमगरको घरमा पत्रकार डेकेन्द्रराज थापालाई देखेको हुँ। दिनभरी यताउता घुमफिर गर्ने कहिलेकाहीँ लक्षीराम घर्ती मगरलाई खाना लिएर लेकमा जान्थे। एक दिन ने.रा.प्रा.बि.को चारैतिर सेन्ट्री बसेका थिए। उक्त टोलीमा मुक्ति भन्ने थिए।
निजले म सेनाको कमाण्डर हुँ भन्दै थिए। रोए कराएको आवाज आएको केहि समयपछि डेकेन्द्रलाई माओवादीले हात खुट्टा समातेर झुण्डाउँदै लक्षीराम घर्तीमगरको घरमा लगेका हुन्। सोही दिन निज डेकेन्द्र थापाको मृत्यू भयो तर लास कहाँ गाडे थाहा भएन। २/४ दिनपछि लास गाडेको ठाँउ समेत देखेँ। डेकेन्द्र थापालाई मुक्ति, लक्षीराम घर्तीमगर, बालुवाटार गा.बि.स.को निरगागाँउका जीवन्त भन्नेलाई सोही दिनमा देखेको हुँ।