जाजरकोटको खगेनकोट गाउँ विकास समिति वडा नम्बर ६ का कलीवान नेपालीका परिवार पालमुनी बस्न बाध्य छ।
यही १३ गते आएको भूकम्पका कारण कलीवानको घर पूर्णरुपमा भत्किएपछि उनको परिवारको बिचल्ली भएको हो।
निम्न आयस्तरको परिवार भएको कारण तत्काल कुनै व्यवस्था गर्न नसकेपछि वर्षात्का समयमा पनि पालको सहारामा जीवन चलाउन बाध्य भएको स्थानीय विष्णु केसीले बताए।
घरमा भएको सबै पशुचौपाया घर भत्किएपछि पुरिएर मरिसकेको र केही भाँडाकुँडा बाहेक अन्य केही सामग्रीहरु बाँकी नरहेको कलीवानले बताए।
इलाका प्रहरी कार्यालय दल्लीसँग राहतका लागि पहल गरिदिन आग्रह गरेपनि उनले खासै सहयोग पाएका छैनन्। हाल कलीवानका सात जनाको परिवार गाउँलेले दिएको पालमा बसेर गुजारा चलाइरहका छन्।
यसैबीच जाजरकोटको नायकवाडा गाउँ विकास समिति–५ काउलीमा पहिरो जाँदा रामीडाडा–४ का २३ वर्षीय रन्जक पुनको मृत्यु भएको समाचार छ। रासस