बुधबार इटहरी पुगेपछि अचानक रोशन जोशी योजना अधिकृतसित जिल्ला अनुगमन समितिलाई छक्याएर ठेकेदार भीम पौडेललाई भेट्न सुटुक्क पुगेका थिए।
सरकारी गाडी छोडेर ठेकेदार भेटी उनकै गाडी प्रयोग गरेर ढिलो गरी फिल्डमा पुग्नुलाई अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की आफैंले 'अर्थपूर्ण' तरिकाले हेरेका छन्।
ठेकेदार पौडेलसँगको सम्बन्ध अनुगमनकै क्रममा जोशीले 'अशोभनीय' ढंगले पुष्टि गरे।
जिल्ला विकास समितिको वातावरण शाखामा रहेर उनले मोरङका समग्र खोलानालाको अध्ययन अनुसन्धान गरिरहेका छन्।
उनको संलग्नतामा वातावरणीय अध्ययन प्रतिवेदन घुमाउरो तरिकाले ठेकेदार अनुकूल बन्ने गरेको छ।
सेतोपाटी संवाददाताले ठेकेदार–जोशी कनेक्सन खोज्ने प्रयास गरेको छ।
वातावरण अधिकृतको रूपमा कार्यरत रहँदाको फाइदा सबैभन्दा बढी उनैले उठाएको आरोप लाग्ने गरेको छ। अधिकारीहरूका अनुसार मोरङका सबै खोलानालाको वातावरण अध्ययन प्रतिवेदन (आइइइ) रिपोर्टमा उनको एक्लो जिम्मेवारी
रहने गरेको छ। उनले स्थानीय विकास अधिकारी हैन, सिडिओमात्र हैन, स्थानीय विकास मन्त्रालयको टोलीसहितलाई छक्याएर ठेकेदारको पक्षमा आइइइ रिपोर्ट बनाउन सहयोगी भूमिका खेल्दै आएका छन्।
खोलानाला अध्ययनपछि आइइइ रिपोर्ट बनाउने क्रममा यसपल्ट उनले झुक्याउन सकेका छन्।
प्राकृतिक स्रोतसाधन समितिको सहमति विपरीत उनले आइइइ रिपोर्ट बनाउन 'सहयोग' गरेपछि अहिले वनक्षेत्रमा पर्ने खोलानाला मासिने क्रम बढ्दै गएको छ।
जिल्ला वन अधिकृत दीपक ज्ञवालीले आइइइ रिपोर्टबारे प्रश्न उठाएका छन्। उनका अनुसार मोरङका खोलानालाको आइइइ रिपोर्ट ठेकेदार र क्रसर उद्योगीको अनुकुल देखिन्छ।
'क्रसर उद्योगलाई पायक पर्नेगरी आइइइ रिपोर्ट बनेको देखिन्छ,' ज्ञवाली भन्छन्, 'कतिपय स्थानमा वनक्षेत्र मासिने गरी रिपोर्ट बनेको छ।'
लेटाङ गाविस–७ मा पर्ने चिसाङ खोलामा ठेकेदार पौडेलको आफ्नै क्रसर उद्योग छ। यहीँ पर्ने वनक्षेत्र मिचेर आइइइ रिपोर्ट बनेको छ। वनले पुलबाट चार दशमलव ९८ किलोमिटर माथिबाट मात्र आवाधी क्षेत्र पर्ने भएकाले खोतल्न अनुमति दिएको ज्ञवाली बताउँछन्। तर आइइइ रिपोर्टमा त्यसलाई घटाएर ४ दशमलव ५८ किलोमिटर क्षेत्रमा पारिएको छ। चार सय मिटर घट्दा वनक्षेत्र सिधै मिचिएको ज्ञवाली बताउँछन्।
बुधबार अनुगमनका क्रममा ज्ञवालीले ठेकेदार पौडेलले वनक्षेत्रमा पर्ने खोलाबाट ढुंगा–गिट्टी उत्खनन् गरेको भेटाए।
चार सय मिटर घटाएर आइइइ रिपोर्ट बनाउँदा ठेकेदार पौडेलको क्रसर उद्योगलाई पायक पर्छ। फलस्वरुप उनले आफ्नो क्रसरको सिधा अघिल्तिरबाट खोलो खन्न पाएका छन्।
यो चार सय मिटर क्षेत्रनजिक बस्ती परेकाले खोलो पस्ने भन्दै अन्तिम समयमा सबैको सहमतिमा रिपोर्ट बनाएको जोशीको भनाइ छ। 'अघिल्ला डिएफओ सा'ब श्रीप्रसाद बरालले सहमतिमा हस्ताक्षरै गर्नुभएको छ,' जोशी भन्छन्, 'मैले आफैंले मनलागी रिपोर्ट बनाउन सहयोग गरेको हैन।'
आइइइ रिपोर्ट बनाउने क्रममा बरालले पनि जोशीलाई सघाएको देखिएको छ।
गछिया खोलाको आइइइ रिपोर्ट पनि यसैगरी बनेको देखिन्छ। गछिया पुलबाट १ दशमलव ९३ किलोमिटर उत्तरबाट ४ दशमलव २८ किलोमिटर उत्तरमात्र खन्न सकिने वनले अनुमति दिएको छ। तर माथिल्लो क्षेत्र बढाएर आइइइ रिपोर्टमा ४ दशमलव ९८ किलोमिटर बढाइएको छ। यसो गर्दा वनक्षेत्र मिचेर ढुंगा–गिट्टी उत्खनन् गर्न ठेकेदारलाई 'अनुकुल' पारिएको छ।
गछियाका अटल क्रसर, पूर्वाञ्चल र जयश्री क्रसरले आफूलाई पायक पर्नेगरी खोला खोेतल्न पाएका छन्। 'यो आइइइ रिपोर्टकै कारण हो,' वन अधिकृत ज्ञवाली भन्छन्, 'वनक्षेत्रपर्ने गरी त्यहाँ खोला खोतल्ने प्वाइन्ट राखेको भेटियो।'
उर्लाबारी–६,८,९ वडा भएर बग्ने सुनझोडा खोलाका ठेकेदार सचिन शाक्य पौडेलका पेटी ठेकेदार हुन्। पौडेललाई सघाएबापत शाक्यले आफ्ना नातेदारलाई पेटी ठेकेदार बनाएको जिविस स्रोत बताउँछ।
शाक्य वातावरण शाखा अधिकृत जोशीका नातेदार हुन्। नातामा शाक्य जोशीका भाइ पर्छन्। उनी आफैंले शाक्य आफ्ना भाइ नाता पर्ने स्वीकारेका छन्।
यो खोलामा पनि वनक्षेत्र मिचिने खालको आइइइ रिपोर्ट बनेको छ। वनक्षेत्र उत्खनन् भएको भेटेपछि आफूले रोकिदिएको डिएफओ ज्ञवाली बताउँछन्।
आफूले कुनै क्रसर र ठेकेदारलाई पायक पर्ने वा वनक्षेत्र मिचिने गरी खोलानालाको वातावरण अध्ययन प्रतिवेदन बनाउन सहयोग नगरेको जोशीको दाबी छ। 'मैले आइइइ रिपोर्ट कसैलाई अनुकुल पर्नेगरी बनाउन सहयोग गरेको छैन,' जोशी भन्छन्, 'सबैको सहमतिमै बनाएको हो।'
प्रमुख जिल्ला अधिकारी कार्की र स्थानीय विकास अधिकारी नारायण मैनाली अरू कसैलाई प्राविधिक ज्ञान नभएकाले जोशीकै सल्लाहमा खोलानालाको अध्ययन हुने गरेको बताउँछन्। एलडिओ मैनाली र प्रजिअ कार्की दुबैले आइइइ रिपोर्टबारे छलफल गर्ने बचन दिएका छन्।