वन व्यवस्थापनमा भौगर्भिक सूचना प्रविधि (जिआईएस) को महत्व र अवस्थाबारे दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकका विज्ञबिच पोखरामा छलफल सुरु भएको छ। भुटानको सार्क फरेस्ट्री केन्द्र र वन विज्ञान अध्ययन संस्थानको आयोजनामा छलफल सुरु भएको हो। दुईदिने उक्त छलफलमा ५ वटा दक्षिण एशियाली मुलुकका १० जना जिआईएस विज्ञ सहभागि छन्। बंगलादेश, भुटान, मालदिभ्स, नेपाल र श्रीलंकाका विज्ञ छलफलमा सहभागि छन्।
छलफलमा विज्ञहरुले वन व्यवस्थापनमा जिआईएस प्रविधिको भूमिकाबारे अनुभव साटासाट गर्ने वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक बिनोदप्रसाद हैँजुले बताए। 'वनको अवस्था र व्यवस्थापन कस्तो भईरहेको छ भनेर बुझन अब जंगलमै पुग्नुपर्ने अवस्था छैन। यो प्रविधिले अवस्था पत्ता लगाउन सहज भएको छ' उनले भने, 'वनको व्यवस्थापन अवस्था जिआइएस प्रविधिबाट थाहा हुन्छ। तर, विस्तृत अवस्था बुझ्नका लागि भने जंगलमै पुग्नुपर्छ।' यो भेलामा वन व्यवस्थापनमा जिआईएस प्रविधिको सहयोग कत्तिको पुगेको छ भन्ने बारेमा पनि जानकारी साटासाट हने उनले बताए।
छलफलको उद्घाटन गर्दै वन विभागका महानिर्देशक रमेश शाक्यले दक्षिण एशियाली मुलुकमा वन व्यवस्थापनमा जिआईएस प्रविधिको प्रयोगबारे ज्ञान, सीप र अनुभव आदानप्रदान हुँदा भविश्यमा अझै सहज हुने बताए। दक्षिण एशियाली मुलुकका अरु विज्ञहरु यस क्षेत्रमा लाग्न उनले सुझाए। 'वन व्यवस्थापनको अवस्था कुन मुलुकमा कस्तो छ भन्ने पनि यहिँ छलफलमा थाहा हुनेछ' उनले भने, 'यसले आगामि दिनमा वन व्यवस्थापनमा यो प्रविधिको उच्चतम प्रयोगलाई अझै बढाउनेछ।'
संस्थानका डिन चिरञ्जिवी उपाध्यायले यो प्रविधिको प्रयोग गरेर वन व्यवस्थापनमा लाभ लिन सकिने बताए। सार्क वन केन्द्रका निर्देशक साँगेले दीगो वन व्यवस्थापनमा प्रविधिले सहयोग गरेको बताए। भारत यो प्रविधिमा अझै एक कदम अगाडि रहेको उनले जानकारी दिए। वन व्यवस्थापनमा प्रविधिको उपयोग गर्न सके त्यसको लाभ स्थानीयबासीले अझै बढि लिन सक्ने उनले बताए। कार्यक्रममा वन संरक्षणका क्षेत्रका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।