प्रत्येक वर्ष पञ्चमी तिथिको दिन मनाइने विवाहपञ्चमी महोत्सव रामसीताको प्रतीकात्मक विवाहसँगै सम्पन्न भएको छ।
जानकी मन्दिरबाट निस्केको किशोरीको डोला र राम मन्दिरबाट श्रीरामको डोला बाह्र बिघामा गई स्वयंबरमा परिणत भई वैवाहिक कार्यक्रममा परिणत भएको थियो।
गोस्वामी तुलसीदासकृत रामायणमा वर्णित भएनुसार राजर्षि जनकद्वारा गरिएको प्रतिज्ञालाई अयोध्याका राजकुमार रामले धनुषको ताँदो चढाई पूरा गरेकाले जानकीको विवाह उनीसँग भएको थियो।
अयोध्या नरेश दशरथको भूमिकामा जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरी थिए। उनकाे नेतृत्वमा पौराणिक व्यवस्थाअनुरुप बाजागाजा र स्वर्णिम झाँकीसहितको जन्ती गएको थियो। दुलहा रामको प्रतिमालाई विशेष सिंहासनमा राखी त्रेताकालीन रङ्गभूमि मैदानमा पुर्याइएको थियो। त्यस्तै मिथिला नरेश जनकको भूमिकामा रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको नेतृत्वमा दुलही जानकीको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी पुयाइएको थियो।
रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सुसज्जित डोलाले पाँच पटक परिक्रमा एवम् आरती पूजन गरेपछि स्वयम्बर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा छ।
स्वयम्बर समारोह सकेर दुलहादुलहीको डोला एवम् झाँकीसहितको हजारौँको सङ्ख्यामा रहेको जन्तीले नगर परिक्रमा गरी विवाहस्थल जानकी मन्दिर पुगेर विवाह संस्कार कार्यक्रम प्रारम्भ हुन्छ।
विवाहपञ्चमीका अवसरमा नेपाल एवम् भारतसहित तेस्रो राष्ट्रबाट आएका हजाराँै हजार श्रद्धालु भक्तजन एकाबिहानैदेखि गङ्गासागर, धनुषसागर, रत्नसागरमा स्नानपछि क्रमशः राम मन्दिर तथा जानकी मन्दिरमा फलफूल अक्षता प्रसाद चढाएर पूजा अर्चना गर्न पाउँदा आफूलाई धन्य ठान्छन्।
सप्ताहव्यापी रुपमा जानकी मन्दिरले फूलबारी लीला, नगर दर्शन, धनुषयज्ञ, तिलकोत्सव, मटकोर, शुभविवाह र राम कलेवा जस्ता महत्वपूर्ण विधि पौराणिकरुपमा आयोजना गर्छ।
महोत्सवमा भाग लिई विधिवत दर्शन–पूजन गरेपछि जस्तोसुकै पापबाट मुक्ति मिल्ने र सुख शान्ति समृद्धि तथा आरोग्य प्राप्त हुने धार्मिक जनविश्वास छ। हरेक पाँच वर्षमा रामको जन्मभूमि भारतको अयोध्याबाट झाँकीसहित हजारौँको सङ्ख्यामा जन्ती जानकीको जन्मभूमि जनकपुरधाम आउने धार्मिक परम्परा छ। रासस