पर्सा प्रहरीले झूठो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
जिल्लाको बेल्वा–९ बस्ने बाबुलाल महतो धांगडको छोरा राधा किसन महतो धांगड बनी भारतीय नागरिक राधाकृष्ण उरावले झूठा विवरण पेस गरी नेपाली नागरिकताको लागि फारम भरेकोमा उनीहरुको विषयमा प्रहरी चौकी मिलनचोक र स्थानीयसँग बुझ्दा उनीहरु नेपाली नागरिक नभएको पुष्टि भएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
भारत विहार पश्चिम चम्पारण जिल्ला बेतीया ग्राम पञ्चायत बैरागी सोन वर्षा थाना चिउटाहा घर भएका बाबुलाल महतो धांगड र रमेश महतोसमेत भई राधाकृष्ण उरांवलाई राधाकिशन महतो धांगड बनाई झूठा विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्सामा लगी नेपाली नागरिकताका लागि आवेदन पेस गरिएको थियो।
उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए। पक्राउ परेका दुवैजनालाई आज जिल्ला अदालतमा पेस गरिने पनि उनले बताए। रासस