मोरङका खोलानालामा मापदण्डविपरीत भइरहेको ढुंगा–गिट्टी उत्खनन् अनुगमन गर्न हिँडेका जिल्ला विकास समिति मोरङका दुई अधिकृतले खराब नियत देखाएका छन्।
बुधबार प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की नेतृत्वमा गएको अनुगमन टोलीलाई छल्दै जिल्ला विकास समितिका योजना अधिकृत राजेन्द्र पोखरेल र वातावरण शाखाका अधिकृत रोशन जोशी ठेकेदार भीम पौडेलसँग ‘गोप्य साँठगाँठ’मा लागेपछि सिडिओ कार्कीले झपारेका छन्।
सरकारी गाडी छोडेर इटहरी चोकबाट ठेकेदार पौडेलको गाडीमा उनीहरू चढेका थिए। जिल्लास्थित प्राकृतिक स्रोतसाधन समिति गछिया खोलामा अनियमित ढंगले ढुंगा–गिट्टी उत्खनन् भइरहेको स्थानमा पुगेको बीस मिनेटपछि पोखरेल र जोशी ठेकेदारको गाडीमा पुगेका थिए।
बुधबार विहान विराटनगरस्थित प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट टोली गोप्य अनुगमनमा निस्केको थियो। इटहरी चोक पुगेपछि एक्कासि पोखरेल र जोशी ठेकेदार भेट्न छड्केका थिए। पोखरेल र जोशी इटहरीबाट ठेकेदार पौडेलको हाइलक्स गाडीमा ढिलो पुगेपछि प्रजिअ कार्कीले हप्काएका हुन्।
‘अनुगमनमा सरकारी गाडी लिएर हिँडेको जिविसको योजना अधिकृत ठेकेदारलाई भेट्न सुटुक्क भाग्ने ?, उसैको गाडीमा चढ्ने ? सरकारी गाडी थिएन ?,’ प्रजिअ कार्कीले हप्काए, ‘लाज लाग्दैन ?’
गछिया खोला पुगेका प्रजिअ कार्की, एसपी ठूले राई, जिल्ला वन कार्यालयका प्रमुख दीपक ज्ञवाली, जिविसस्थित राजनीति संयन्त्रणका सदस्यसहितको अनुगमन टोलीले जिविसका अधिकृतद्वय जोशी र पोखरेललाई खोज्दा उनीहरू ‘बाटोबाटै बेपत्ता’ भएको खबर आएको थियो।
वनक्षेत्रकै खोलामा ढुंगा–गिट्टीको उत्खनन् गरिरहेका चार वटा ट्रयाक्टर प्रहरीको मद्दतमा खोलामै पक्राउ गरिएको छ। जोशी जिविसमा रहेर खोलानालाको वातावरण अध्ययन प्रतिवेदन बनाउन सक्रिय रहँदै आएका छन्।
वातावरण अध्ययन प्रतिवेदनमाभन्दा भिन्न ढंगले खोलानाला उत्खनन् गर्न दिइरहेको सूचनाका आधारमा प्रजिअ कार्कीको नेतृत्वमा टोली निस्केको थियो। सिडिओ कार्कीले हप्काएपछि पोखरेलले निहुरेर माफी मागेका थिए। ‘जोशी ठेकेदारको गाडीमा चढेपछि म केही बदमासी गर्न पो गएको हो कि भनेर म पनि पछिपछि लागेको,’ पोखरेलले बचाउ गर्दै भने, ‘म आफैं पो फँसे।’ जोशी भने केही बोल्न सकेनन्।
अनुगमनका क्रममा जिल्ला वन कार्यालयले चिसाङ खोलामा उत्खनन् गर्न रोक लगाएको वनक्षेत्रको ढुंगा–गिट्टीसमेत ठेकेदार भीम पौडेलकै ओम श्री क्रसर उद्योगले उठाउने गरेको भेटिएको छ।
स्थानीय विकास अधिकारी नारायण मैनाली विदामा रहेका कारण अनुगमनमा योजना अधिकृत निस्केका थिए। ज्ञवालीले वनक्षेत्रको ढुंगा–गिट्टी उठाएको आइन्दा भेटे कारबाही गर्ने चेतावनी ठेकेदार पौडेललाई दिएका छन्। चिसाङ खोलाको वनक्षेत्रमा पर्ने २० मिटर क्षेत्रको ढुंगा–गिट्टी ठेकेदार पौडेलले उत्खनन् गरेका डिएफओ ज्ञवालीले जानकारी दिए।
प्रजिअ कार्कीले योजना अधिकृत पोखरेल र जोशी दुबैलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कार्कीले एलडिओ मैनालीलाई टेलिफोनमै योजना अधिकृत र अधिकृतको ‘खराब नियत’बारे अवगत गराइसकेका छन्।