भारतले सुर्ती खरिद गर्नपाउने उमेरलाई २५ वर्ष पुर्याउने अभूतपूर्व योजना बनाएपछि स्वास्थ्यकर्मीहरूले बुधबार स्वागत गरेका छन्। उनीहरूले प्रतिवर्ष १० लाख व्यक्तिको सुर्तीकै कारण मृत्यु भइरहेको वर्तमान सङ्ख्या घटाउन यस अभियानले ठूलो सहयोग गर्ने अपेक्षा गरेका छन्।
एक अर्ब २० करोड जनसङ्ख्या भएको भारतमा हाल सुर्ती खरिद गर्न कम्तीमा १८ वर्ष उमेर हुनुपर्छ र यो उमेरलाई बढाएर २५ वर्ष पुर्याइए यो मुलुक चुरोट खरिद गर्न सबैभन्दा बढी न्यूनतम उमेर पुग्नुपर्ने मुलुक हुने जानकारी सुर्ती उत्पादनको विरोधमा अभियान सञ्चालन गरिरहेका व्यक्तिहरूले दिएका छन्।
यो योजना विशेषज्ञहरूको एक समूहले तयार गरेको जानकारी स्वास्थ्यमन्त्री जे.पी.नड्डाले संसदमा मङ्गलबार दिनुभयो। यसलाई कानुन बन्न प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद् तथा संसदले स्वीकृति दिनु आवश्यक छ।
नाफा कमाउने उद्देश्य नभएको भोलुन्टरी हेल्थ एसोसिएसन अफ इन्डियाका प्रवक्ता विनय म्याथ्युले यो सरकारले लिन लागेको निकै स्वागतयोग्य पाइला भएको बताए।
उनले यसले विद्यार्थी तथा युवालाई चुरोट खरिद गर्न नदिन ठूलो बाधाको रूपमा काम गर्ने बताए।
भारतमा प्रतिवर्ष सुर्तीजन्य रोगबाट करिब नौ लाख व्यक्तिको मृत्यु हुनेगर्छ। यो चीनपछि सबैभन्दा ठूलो सङ्ख्या हो। विशेषज्ञहरूले यसरी मर्ने व्यक्तिको सङ्ख्या यस दशकको अन्त्यमा १५ लाख पुग्ने अनुमान गरेका छन्।
भारतमा बिक्री हुने ७० प्रतिशत चुरोट प्याक गरिएको हुँदैन। यसको अर्थ भारतमा सन् २०१२ मा १०० अर्ब यस प्रकारको चुरोट बिक्री भएको जानकारी बजार अनुसन्धान संस्था युरोमोनिटरले दिएको छ।
चरोटविरोधी कार्यकर्ताहरूले सडकमा खुला रूपमा चुरोट बिक्री गर्ने कार्यले धुमपान सेवन गर्ने व्यक्तिको सङ्ख्या बढ्न सघाउने बताएका छन्। उनीहरूले विशेष गरी नवयुवक तथा गरिब व्यक्तिले पूर्ण प्याक चुरोट खरिद गर्न नसक्ने बताए।
म्याथ्युले यस्ता व्यक्तिहरूलाई प्रति चुरोट १० देखि १५ रूपैयाँमा बिक्री गर्ने अवस्था हाल भएकोमा उनीहरूलाई पूर्ण प्याक बेच्नुपर्दा रु.२००।– तिर्नु पर्ने भएकाले उनीहरूले चुरोट खरिद गर्न नसक्ने बताए।
भारतमा सुर्ती चुरोटका साथै, बिडी, सुर्ती, गुट्काका रूपमा पनि बिक्री गरिन्छ।
नयाँ दिल्लीले गत महिना यहाँ आउँदो वर्षदेखि चुरोटको प्याकको ८५ प्रतिशत बाहिरी भागमा स्वास्थ्यका विषयमा चेतावनी दिने विज्ञापन राख्नुपर्ने व्यवस्था घोषणा गरेको छ। रासस/एएफपी