पण्डित मोहनप्रसाद भण्डारीले भद्रकाली मन्दिरको आँगनमा सात वर्ष अघि देखेका थिए, १०/१२ दिनको बच्चा काखमा च्यापेर आएकी एउटी सुत्केरी महिला।
त्यही दिनदेखि अहिलेसम्म ती महिलाको स्थायी ठेगाना भद्रकालीको छिँडी हो।
दोलखाबाट आएका पण्डित टीका, फूलप्रसाद बचेर गुजारा चलाउँछन्,उनी बेलुका आफ्नो डेरा जान्छन्।
यी महिला मागेर पेट भर्छिन् र छिँडीमै सुत्छिन्। यही चिसो छिँडिमा उनको बच्चा पनि हुर्किइसकेको छ।
हरेक दिन, पण्डित विहानै आइपुग्थे।
अनेक दृश्य देखिन्थे त्यहाँ, कहिले त मन्दिरको छेउमै उनी चिच्चाइरहेकी हुन्थिन्।
आवाजमात्रै निकाल्न सक्ने उनले कुन्नी कसलाई हो धारे हात लगाउँदै गाली गर्थिन्।
धेरै बिहान देखिने यस्ता दृश्य सबका आँखाले पचाइसकेका छन् अचेल।
'ऊ रोइरहेको देखेर मन्दिर दर्शन गर्न आउने भक्तालुहरुले पैसा दिन्थे। कुन पीरले रुन्थी उसको रुवाई पैसाले के थामिन्थ्यो र! अल्लीबेरमैै उ थामिन्थी आफै,' ती पण्डितले भने।
'किन रुन्थिन् त्यसरी?'
'रातभरि को–को बौलहाहरू आएर जबरजस्ती गर्दा हुन्, तीनैलाई सराप्दै रुन्थी होला नि!'
पण्डित ती महिला आउनुभन्दा दुई तिन महिनाअघि भन्द्रकाली मन्दिरमा आएका हुन्।
'लाटी छे,ज्यानको एउटा हर चल्दैन, मागेरै कमाई यसले लाखौँ रुपैयाँ' उनले भने।
तर, पण्डितलेे देखेका छन्, दर्शनार्थीहरुले दिएका लत्ताकपडा अनि पैसा उनकी सानीमा आएर लैजान्छिन्।
'पहिले त उसकी सानीमा दिनमा तीन चार पटक आउँथी र पैसा लिएर जान्थी' पण्डितले सम्झिए,'खै सानीमा हुँ भन्छे थाहा छैन, कस्तो नाता हो।'
...
चार पाँच वर्षअघि मैले मन्दिरको ठीक अगाडि बायाँ छेउमा देखेकी थिएँ, मैला लुगामा बेरिएकी एउटी 'स्वास्नीमान्छे।'
एक डेढवर्ष जतिको बच्चा ती मैला थाङ्नामा निदाइरहेको हुन्थ्यो, कहिले भन्द्रकाली मन्दिरको आँगनमा खेलीरहेको, आफ्नै सुर!
मानसिक रोगी होली भन्ने सोचेथेँ। बौलाएपनि आफ्नो बच्चाको 'सुर्ता' त हुँदो रैछ आमाहरुलाई।
कहिलेकाहीँ विहान त्यहाँ पुग्दा देख्थेँ, उनी आफ्नो बच्चालाई थाङ्नामा सुताएर मन्दिर फन्का लगाउँथिन्, त्यहाँका घण्टहरु बजाउँथिन्।
त्यो बेला पनि मन्दिरमा भेटिएका एक पूजारीले भनेका थिए,'टन्न पैसा कमाउँछे यस्ले।'
उनै पण्डितले भनेको बेला भद्रकाली मन्दिर पुग्दा भेटिएकी उनकी सानीमाले भनेकी थिइन्,'उसको नाम विमला देउजा हो। म उसकी सानीमा हुँ।'
विमलाको मानसिक अवस्था त ठीकै रैछ। तर, बोल्नै नसक्ने। अनि आधा शरीर चलाउन नसक्ने गरी अपाङ्गता भएको।
सानीमाले विहान खाना लिएर आउँथिन्। एकपटक दिउँसो पनि आउँथिन्, फेरि राति आएर विमलालाई लिएर आफू बस्ने थापाथलीको डेरामा जान्थिन्।
भोलिपल्ट, एकाविहानै विमला बच्चा च्यापेर खोच्याउँदै खोच्याउँदै सानीमाको डेराबाट यही छिँडीमा आइपुग्थिन्।
दुई हप्ताअघि एकदिन पण्डित मोहनप्रसाद भण्डारीले भने,'त्यो बेला मन्दिरको समितिले गाली गरेपछि उसकी सानीमाले लैजाने ल्याउने गरी। सात महिनाजति मात्रै हो। अनि फेरि यो दिन रात यहीँ बस्छे।'
पण्डितका अनुसार, उनको बच्चा पनि यहीँ हुर्कियो। फेरि पनि समितिले उनै सानीमालाई भन्यो,'यो बच्चालाई आफैले राख र पढाऊ।'
अहिले विमलाको बच्चा तिनै सानीमासँग छ।
...
दुई हप्ताअघि, मोहनप्रसादसँग विमलाबारे कुरा गरिरहँदा, छेउमै थिए भद्रकाली एरियामा खटिएका एक प्रहरी।
केहीबेरमै एकजना अधवैँसे मान्छे आइपुगे। हाम्रो कुरा सुनेपछि उनले भने,'तपाईँले यो लाटीको कुरा गर्नु भएको? यो त मेरै गाउँकी हो नि!'
सिन्धुपाल्चोक ज्यामिरे ४ घर बताउने गोविन्द गिरीले विमला कि सानीमालाई दिदी भन्ने गरेको बताए।
गिरीका अनुसार, विमलाको जन्मघर ज्यामिरे ६ मा पर्छ।
'पहिले पहिले यो यस्ती लाटी थिइन,' गोविन्दले उसको पुरानो कथा सुनाए, 'त्यतै एउटा घरमा काम गर्थी त्यहीँ यसको बच्चा हुने भयो। त्यो पेटमै मरेछ, अनि यो बोल्नै नसक्नेे भई। अपाङ्ग पनि त्यहीँदेखि भएकी हो। पहिले त सध्दे थिई!'
'अहिलेको बच्चाको बाबु कहाँ छ त तपाईँलाई थाहा छ?' मैले सोधेँ।'कस्को.. त्यो मलाई कसरी थाहा हुन्छ?' कत्ति नराम्रो भाषामा उनले विमलाको खिसी गरे।
उनले बोलेको सुनेर छेउमा बसेका प्रहरी, खितखिताए।
वरिपरि उभिएर कुरा सुनिरहेका 'लोग्नेमान्छे'हरू रमाइलो मानीमानी हाँसे।
तिनै गोविन्दले भने, 'यसकी सानीमाको नाम रुकु कार्की हो।' उनले रुकुको नम्बर पनि दिए। तर, त्यसमा उनलाई भेट्नै सकिएन।
त्यो दिन, विमला भए ठाउँ भद्रकाली मन्दिर छेउको पूर्वतिरको पाटीमा गयौँ।
पिँढीमा, लुगैलुगाको ठूलो भारी। केही लुगा बिछ्याइएका छन्। निदारमा रातो ठूलो टीका, कपाल बाटेकी रातै डोरीले, मैलोको कुटिरो परेका कपडा लगाएकी मैली विमला खुट्टा पसारेर बसेकी थिइन्।
गोविन्दलाई देखेर यसरी हाँसिन्, दाँत र गिँजा प्रष्टै भए।
'तिम्री छोरी खै?' गोविन्दले इसारा गर्दै सोधे।
छेउमा एउटा छ वर्ष जतिको बालक थियो केही खाइरहेको। त्यसलाई देखेर विमला रिसाइन् र मतिर फर्केर इसारामा बोलिन,'मेरी पनि यत्रै छोेरी छ, पहिले यति सानी थिई। उता बस्छे।'
उनले पूर्वतिर देखाइन्, जहाँ सिंहदरबारको गेट छ।
गोविन्दका अनुसार सानीमा पुतलीसडक बस्दीरैछिन्। त्यो केही खाइरहेको बालक पनि उनकी सानीमाले पाल्ने अर्कैको बच्चा रैछ।
संंकेतमा आफ्नी छोरीबारे बताइरहँदा उनको अनुहार उज्यालो भयो। उनले खितखित् गर्दै के–के भनिन् मैले बुझिँन।
...
चार वर्ष पहिले भेट्दा उनकी सानीमाले अर्कै कथा सुनाएकी थिइन विमलाको।
त्यहि बेला लेखेको डायरी पल्टाएँ। उनकी सानीमाले यसो भनेकी रैछिन्–
'चौतारातिर हाम्रोे घर हो। सानैदेखि लाटी थिई। दुई दाजुभाई थिए उनीहरु खै कता छन् थाहा छैन। यसका बाबु आमा मरीसके। गाँउमा सानो झुप्रो घर छ। गाँउकै मान्छेहरुकोमा घाँस काट्ने, काम गर्थी। गाँउमै अर्को 'लाटो' थियो। दुवै जनाको माया बसेछ। एक दिन घाँस काट्न गएका बेला उतै के–के गरे। यसको पेटमा बच्चा बस्यो। पछि त्यो 'लाटो' भाग्यो। यो पनि काठमाडौँ आई। यो बच्चा त्यै 'लाटो'को हो।'
...
भद्रकालीका अर्का पण्डितले सुनाएको विमलाको कथा पनि अर्कै थियो।
'यो यहाँ आएको त २२ वर्ष पो भयो रे। यसकी सौतेनी सासु छे। आएर यसले मागेको पैसा लैजान्छे।' पण्डित माधव भण्डारीले भने,'अचेल सासुलाई मेरो विहे गर्देऊ भन्छे अरे यसले।'
उनलाई देखेका र केही बुझेकाहरूसँग फरक फरक कथा छन् विमलाको बारेमा। ती कुरा गुन्दै, गुठी कार्यालयमा पुगेँ। गुठी प्रमुख राजेन्द्र दाहालले पनि सुनेका छन्, उनका बारे यस्तै कथा।
विमला र उनी जस्तै घरबारविहीनहरु भद्रकालीमा ५ जना जति छन् रे।
उनीहरूको व्यवस्थापनका लागि गुठीले महानगरपालिकसँग कैयौँपटक कुरा राखेको छ। महानगसँग यिनीहरुको व्यवस्थापन, सुरक्षालगायतका विषयमा कुनै योजना छैनन्।
'हामीले के गर्ने भनेर हरेक मिटिङमा यिनीहरुबारे महानगरका अधिकारीसंग कुरा गर्छौँ' उनले भने 'राज्यसंग त्यसको कुनै उत्तर छैन।'
महानगरका सूचना अधिकृत महेश काफ्लेका अनुसार, घरवारविहीन भएर सडकमा आइपुगेकाहरूको सुरक्षालगायत अन्य व्यवस्था गर्ने कर्तव्य राज्यकै हो।
तर, महानगरपालिकासँग उनीहरूका लागि भनेर कुनै योजना छैनन्। न त महानगरले आफ्नो सरहदभित्र कति मानिसको सडकको बास छ भन्ने तथ्याङक नै राखेको छ।
'महानगरपालिकाकै दायित्व भएपनि हामीसँग स्रोत छैन, बजेट छैन, नियम कानुन मात्रै भएर पुग्दैन राज्यले योजना दिएकै छैन' काफ्लेले भने।
राज्यले उनीहरुको एक समयमात्र 'ख्याल' गर्छ-- विशिष्ठ व्यक्तिहरु भद्रकाली मन्दिरमा आउँदा।
'दशैँमा राष्ट्रपति आउँदा 'विमला'हरूलाई सुरक्षाकर्मीले लुकाउँछन्' दाहालले भने,'ठूलाबडाको सवारी हुनेभयो भने एउटा भित्री कोठामा उनीहरुलाई लगेर कोचिदिन्छन् र मन्दिर सफा गर्छन्।'
दाहालका कुरा सुनेर फर्किँदै गर्दा विमला त्यही पिढीँमा दिउँसोको मस्त निद्रामा थिइन्।
उनको निदारमा रातो टीका भने टल्किरहेको थियो।