पर्साको बहुअर्वाभाठा गाविस–८ गदौलकी २५ वर्षीया शोभादेवी मलाहाको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाले शरीरको आधा भाग जलिसकेको शोभाको शव नियन्त्रणमा लिई परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा राखेको छ। सोमबार घरपरिवारका सदस्यले शोभाको शवलाई जलाउँदै गरेको अवस्थामा उनको हत्या भएको भन्ने उजुरी परेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो।
घटनामा संलग्न शोभाका पति छोटेलाल सहनी र ससुरा लक्ष्मण सहनी पनि फरार रहेका कारण उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको प्रहरीले बताएको छ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक अनिल घिमिरेले बताए। स्थानीयका अनुसार छोटेलाल हालसालै विदेशबाट घरमा फर्किएका थिए।
उनी विदेशबाट घर फर्किएपछि शोभा र छोटेलालको बीचमा रकमको विषयमा बेलाबेलामा झगडासमेत हुने गरेको पनि पाइएको स्थानीयवासीले बताएका छन्। रासस