महोत्तरीको रामगोपालपुरमा मंगलवार ट्याक्टरले ठक्कर दिंदा एक छात्राको मृत्यु भएको छ। मृत्यु हुनेमा सहसौला गाविस ८ की १५ वर्षीया कृष्णा कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
जलेश्वरबाट बर्दिबासतर्फ गइरहेको ज.१त. ४२८४ नम्बरको ट्याक्टरले रामगोपालपुर २ स्थित बाटोमा ठक्कर दिंदा महेन्द्र उच्च मावि रामगोपालपुरको कक्षा ९ मा अध्ययनरत छात्रा साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लाकेन्द्र श्रेष्ठले बताए।
विद्यालयबाट घर फर्किदै गरेकी छात्रा साहलाई ट्याक्टरले ठक्कर दिंदा उनी गंभिर घाइते भएकी थिइन भने घाइते बालिकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुरमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्याक्टरका चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।