वनक्षेत्रमै सञ्चालित चिसाङ खोलाको ओम श्री क्रसर उद्योग। तस्बिरः खिलानाथ/सेतोपाटी
कानुनतः वनक्षेत्रमा क्रसर उद्योग चलाउन गर्न नपाउने भए पनि मोरङ जिल्लामा वनक्षेत्र मिचेर खुलेआम क्रसर उद्योग सञ्चालन गरिरहेको भेटिएको छ। मोरङ लेटाङस्थित चिसाङ खोलामा वनक्षेत्रमै ओम श्री क्रसर सञ्चालन भइरहेको हो। राज्यसंयन्त्रको भरपुर सहयोग लिएर जिल्ला विकास समितिका ठेकेदार भीम पौडेलले क्रसर उद्योग सञ्चालन गरेका छन्। मोरङकै सबैभन्दा ठूलो भनिएको यो क्रसर उद्योग वनबाट दस मिटर नजिक छ। खोलामै रहेको क्रसर उद्योग क्षेत्रको जग्गा ‘आवाधी’ विवरण देखाएर क्रसर उद्योग सञ्चालन गरिएको छ।
वन कार्यालय मोरङले आपत्ति जनाउँदै यो क्षेत्रमा क्रसर उद्योग सञ्चालन गर्न नहुने भनेको छ। वन ऐन तथा नियमावलीअनुसार वनक्षेत्रको तीन किलोमिटर टाढामात्र क्रसर उद्योग चलाउन पाइन्छ।
वातावरणीय अध्ययन प्रतिवेदन (आइइइ)मै खोलाको एकातर्फको जग्गा आवाधी देखाएर क्रसर उद्योग सञ्चालनको अनुमति दिइएको हो। यो क्रसर उद्योगले वनक्षेत्रभित्र एक्साभेटर लगाएर जथाभावी उत्खनन् गरिरहेको छ।
सरकारले खोलानालाका क्रसर उद्योग हटाउने तयारी गरिरहेका बेला यो क्रसर उद्योगमा एक्साभेटरको सहयोगमा धेरैभन्दा धेरै ढुंगा–गिट्टी संकलन भइरहेको छ। सरकारले पुस मसान्तभित्र खोलामा रहेका क्रसर उद्योग हटाउने निर्णय गरेको थियो।
जिल्ला वन कार्यालयले वनक्षेत्रभित्र क्रसर उद्योग सरासर अवैधानिक हुने बताएको छ। ‘वनक्षेत्रभित्र क्रसर सोझै अवैधानिक हो,’ जिल्ला वन अधिकृत दीपक ज्ञवालीले सेतोपाटीलाई भने, ‘मैले प्राकृतिक स्रोतसाधन समितिको बैठकमै कुरा राखेको छु।’
उनका अनुसार यो क्रसर उद्योग क्षेत्रमा गरिएको आइइइ रिपोर्ट नै भरपर्दो छैन। ‘यहाँ अत्यधिक दोहन भएको मैले पाएको छु,’ भर्खरै सरुवा भएर आएका ज्ञवालीले भने, ‘वनक्षेत्रको तीन किलोमिटर छोडेर मात्र क्रसर राख्न पाइन्छ, यहाँ दस मिटर मुस्किलले छोडेको छ।’ उनका अनुसार हेभी मेसिन लगाएर ढुंगा–गिट्टी संकलन गरिरहेकाले पुसमा पनि यस्ता क्रसर उद्योग हट्ने सम्भावना देखिँदैन।
वनक्षेत्र देख्दादेख्दै यसअघिका जिल्ला वन अधिकृतले क्रसर उद्योग राख्न अनुमति दिएका थिए। चिसाङ खोलाको अधिकांश क्षेत्र वनले ओगटेको छ। मिलेमतोमा सञ्चालन भइरहेको यही क्रसर उद्योग छेऊछाउ खोस्रिन जिल्ला विकास समितिले ठेक्का सम्झौता गरेको छ।
जिल्लास्थित प्राकृतिक स्रोतसाधन समितिले जेठमा यहाँ अनुगमन गरेको थियो। अनुगमनका क्रममा वन कार्यालयले वनक्षेत्र पर्ने भन्दै क्रसरदेखि एक किलोमिटर टाढाबाट उत्खनन् गर्न सुझाएको थियो।
पछि ‘आवाधी क्षेत्र परेको’ भन्दै आइइइ रिपोर्ट बनाएर जिल्ला विकास समितिले ठेक्का लगाएको वनले जनाएको छ। मोरङका अधिकांश खोलामा क्रसरलाई पायक पर्नेगरी ठेक्का सम्झौता गरिएको छ। जहाँ एक्साभेटर चलाउन पनि अनुमति दिइएको छ।
गत बिहीबार खोलानाला अनुगमनमा निस्केको सर्वदलीय संयन्त्रसहितको टोलीले वनक्षेत्रभित्र लगाइएको ठेक्कामा पनि मापदण्ड मिचेको बतायो। ‘खदम र चिसाङ खोलामा कुन परिमाणमा खोतल्न पाउने, कति झिक्ने भन्ने मापदण्ड पटक्कै पालना भएको छैन,’ संयन्त्रका संयोजक ज्ञानेन्द्र ढकालले भने, ‘प्राकृतिक स्रोतसाधनमाथि यस्तो दोहन तुरून्त रोक्नुपर्छ।’
डिएफओ ज्ञवालीले वन क्षेत्रभित्र एक्साभेटर चलाउन आफूले रोकेको बताएका छन्। ‘मेरो एरियामा कतै पनि उत्खनन् भयो भने तुरून्त कारबाही गर्न भनेर मातहतलाई भनेको छु,’ ज्ञवालीले भने, ‘चिसाङको क्रसर हेर्दा मलाई पनि अचम्म लाग्यो, सरकारले पुस मसान्तसम्ममा हटाउने सर्कुलर गरेको छ। तर यहाँ खोलाबाट झिक्दै झन्झन् थुप्रो पार्दै गरिँदैछ, सरकारको सर्कुलरको म्याद हेर्ने हो भने समाधान देखिँदैन।’
प्राकृतिक स्रोतसाधन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले क्रसर भएको क्षेत्र आवाधी भएकाले सञ्चालनका लागि व्यावधान नगरिएको बताए। ‘आवाधी पर्ने क्षेत्रमा ठेक्का लगाइएको हो,’ कार्कीले भने, ‘तर वन क्षेत्र मासिने गरी खन्न थालिएको रहेछ भने हामी कारबाही गर्छौं।’