भक्तपुरको दक्षिणी भेक दधिकोट–४ मा अबस्थित प्राचीन अनन्तलिंगेश्वर महादेव मन्दिरलाई दिव्य धामका रुपमा विकास गरिने भएको छ।
दिव्यधाम बनाउन रकम जोहो गर्ने उद्धेश्यले अनन्तलिंगेश्वर संरक्षण तथा विकास समिति र त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रको आयोजनामा मंसिर १२ गतेदेखि २० गते सम्म मन्दिर परिसमा विराट धान्यान्चल श्रीमद् भागवत महायज्ञ हुँदैछ।
शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलमा जानकारी दिए अनुसार महायज्ञबाट दुई करोड रुपैयाँ आम्दानी हुनेछ। यज्ञमा हुने खर्च करिब १६ लाख कटाएर बाँकी हुने रकम मन्दिरको विकासमा खर्च गरिनेछ। 'महायज्ञबाट बचत रकमले महादेव मन्दिर जिर्णोद्धार, गणेश मन्दिर व्यवस्थापन, अनन्त भवानी मन्दिर व्यवस्थापन गर्नेछौं', यज्ञ व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद न्यौपानेले भने, 'यज्ञ मण्डप र कुटि पनि निर्माण गर्नेछौं।'
इन्जिनियर कुमार उप्रेतीको समूहले मन्दिरको गुरुयोजना बनाउँदैछ। 'मन्दिरलाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्नेछौं', उप्रेतीले भने, 'र, धार्मिक पर्यटन धाम बनाउन मन्दिर क्षेत्रमा पिकनिक स्टप, धारा, शौचालय आदिको समेत सुविधा दिनेछौं।'
महायज्ञमा त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रका प्रमुख संरक्षक पण्डित दिवाकरप्रसाद भण्डारीको मुखारविन्दबाट भागवत वाचन हुनेछ। साथमा ख्याती प्राप्त कलाकारहरुले भजन किर्तन गाउने छन्।
महायज्ञका बेला २५ हजार भन्दा बढी तिर्थालुले मन्दिर भ्रमण गर्ने अनन्तलिंगेश्वर संरक्षण तथा विकास समितिका अध्यक्ष शालीग्राम न्यौपानेले बताए। नेपालका ६४ ज्योर्तिलिंग मध्ये अनन्तलिंगेश्वर स्वयंभुलिंग हुन्। 'मन्दिर परिसरमा अबस्थित शिलालेख अनुसार भक्तपुरका राजा नरेन्द्र देवले ७ औं शताब्दीमै मन्दिर जिर्णोदार गरि पूजा गराउन लगाएका थिए', न्यौपानेले भने, 'त्यसैले मन्दिर पुरातात्विक हिसाबले समेत महत्वपूर्ण छ।'
केन्द्रका अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्रमुख संरक्षक केशव पुरीले त्रिनेत्र अध्यात्म चिन्तन केन्द्रले भबिश्यमा अनन्तलिंगेश्वरलाई नेपालको वृन्दावनका रुपमा विकास गर्ने लक्ष्य लिएको जानकारी गराए। 'भगवान श्रीकृष्णले परिकल्पना गर्नु भए अनुसारको वृन्दावन बनाउने छौं', पुरीले पत्रकारहरुसँग भने, 'त्यहाँ राधाकृष्णको मन्दिर, गौशाला, वृन्दावन लगायत संरचना बन्ने छ।'