पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरले हरेक महिना दिने उत्कृष्ट प्रहरी पुरस्कार 'पुलिस अफ द मन्थ'मा कात्तिक महिनाका लागि इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापा छनोट भएका छन्। धरान क्षेत्रको आपराधिक गतिविधि नियन्त्रणमा उत्कृष्ट कार्य गरेको भन्दै क्षेत्रीय प्रहरी कार्यालयले उनलाई यो उपाधिले सम्मान गरेको हो।
सम्मानित थापाको फोटो पूर्वक्षेत्र प्रहरी कार्यालयको आवरण स्तम्भमा महिनाभरि राखिने छ। लागुऔषधमुक्त सहर बनाउने अभियानमा सक्रिय भएर लागेको, दुई सय तीस ग्राम खैरो हेरोइनसहित बिक्री वितरणमा संलग्न एक जनालाई नगद ८ लाख ६६ हजार नौ सयसहित पक्राउ गरेको र लागुऔषध नियन्त्रण अभियानका क्रममा ठूलो मात्रामा कोरेक्स, डाइजेपाम, एभिल, नोरोजैसिक, नाईट्रोसन, स्पास्मोप्रोक्सिवन ट्याब्लेट तथा गाजाँसहित दुई सय ६० जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याएकाले उनलाई उत्कृष्ट प्रहरी चयन गरिएको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले बताए।
थापाले अपराध अनुसन्धानतर्फ विभिन्न पाँचवटा जघन्य प्रकृतिका घटनाहरुमा तत्काल परिचालित भई अपराधमा संलग्न ७ जनालाई पक्राउ गर्न सफल भएको, फौजदारी अपराधमा संलग्न रही विगत लामो समयदेखि फरार रहेका १४ जना तथा समाजमा डर त्रास धाक धम्की, आतंक फैलाई गुण्डागर्दी गर्ने ३० जनालाईसमेत पक्राउ गरी शान्ति सुरक्षा सुदृढ राखेको सिलवालको भनाइ छ। संगठनले अख्तियार गरेको नागरिक प्रहरी सहकार्यमा उचित समन्वयको ज्वलन्त उदाहरण प्रस्तुत गरेको क्षेत्रीय प्रहरीको भनाइ छ।
पुरस्कृत प्रनाउ थापाले प्रहरी सेवामा अहिलेसम्मकै ठूलो पुरस्कारबाट आफू सम्मानित हुन पाएकोमा खुसी व्यक्त गर्दै पदीय जिम्मेवारी निर्वाह गर्न थप हौसला मिलेको बताए। पूर्वमा लागू गरिएको नागरिकमुखी, दक्ष, भ्रष्ट्राचाररहित र शिष्ट प्रहरीसेवा प्रदान गर्ने कार्ययोजनाको पालनामा रचनात्मक र सक्षम प्रहरीलाई आफूले पुलिस अफ द मन्थबाट सम्मान गर्ने परिपाटी बसाएपश्चात अधिकतम कमाण्डरहरूमा उत्कृष्ट काम गर्न हौसला मिलेको सिलवालले बताए।
पूर्वक्षेत्रभर कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीमध्ये उल्लेख्य र विशेष कार्य गर्ने प्रहरी कर्मचारीको कार्यहरूको मूल्याङ्कन गरी २०७० फागुन महिनाबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई यो पुरस्कारबाट सम्मान गर्न थालिएको हो। अहिलेसम्म चार प्रहरी नायब उपरीक्षक, तीन प्रहरी निरीक्षक, तीन प्रहरी नायव निरीक्षक, एक प्रहरी सहायक निरीक्षक र चार प्रहरी जवानलाई पुरस्कृत गरिसकिएको छ।