स्थानीय निकायको प्रत्यक्ष निगरानी रहेको प्राकृतिक स्रोतसाधनमाथि ठेकेदार र क्रसर उद्योगले अधिक दोहन गरेका छन्। जिल्ला विकास समितिले ठेक्कासम्झौता गरेका ढुंगा–गिट्टी ठेकेदार र क्रसर उद्योगीको मिलेमतोमा मोरङका खोलानालाको स्वरुप बिग्रिने गरी प्राकृतिक स्रोतसाधनको दोहन गर्न थालिएको हो।
एक्साभेटर प्रयोग गरेर खदम खोलामा क्रसर उद्योगीले मनपरी ढंगले ढुंगा–गिट्टी निकालिरहेका छन्। स्थानीयका अनुसार खदम खोला क्रसरजन्य उपकरणले अहिले नालामा परिणत हुँदै गएको छ। ‘केराबारी क्षेत्र हुँदै बग्ने खदम अहिले जथाभावी उत्खनन् गरेका कारण नाला बनेको छ,’ खदम क्याम्पसका प्रमुख टेकबहादुर थपलियाले सेतोपाटीलाई भने, ‘यहाँ भविष्यमा ठूलो प्राकृतिक विपत्ति निम्तिने खतरा बढ्दै गएको छ ।’
उनका अनुसार स्थानीय प्रशासन र जिविसले आँखा चिम्लिदिएपछि खोलानालामा ठेकेदारको रजाइँ चल्न थालेको हो। जिल्ला विकास समिति सर्वदलीय संयन्त्रले पनि प्राकृतिक स्रोतसाधनको चरम दुरूपयोग भएको बताएको छ।
मोरङका खोलानालाका निम्ति जिल्ला विकास समितिले ठेकेदार भीम पौडेलसँग सम्झौता गरेको थियो। ६ करोड रूपैयाँ बुझाउने सर्तमा पौडेलले ठेक्का पाएका थिए।
जिल्लास्थित प्राकृतिक स्रोतसाधन समितिले तोकेको मापदण्ड मिचेर खदम खोला दोहन थालिएको छ। यही खोला तल आएर बन्ने बुढी खोला पूर्वाञ्चल क्रसर उद्योगले अत्यधिक दोहन गरेका कारण नाला बन्न पुगेको छ।
‘प्राकृतिक स्रोतसाधनमा अत्यधिक दुरूपयोग गरेको भेटाएका छौं,’ सर्वदलीय संयन्त्र संयोजक ज्ञानेन्द्र ढकालले सेतोपाटीलाई भने, ‘ठेकेदारले हेभी उपकरण प्रयोग गरेर जथाभावी उत्खनन् गर्ने गरेका छन् ।’
स्रोतसाधन समितिले खोलाको सतहबाट डेढ मिटर गहिराइसम्म मात्र ढुंगा–गिट्टी झिक्न पाउने मापदण्ड बनाएको थियो।
तर, क्रसर र ठेकेदार मिलेर हेभी उपकरण प्रयोग गरी पाँच मिटर गहिरोसम्म खोतलेर खोलाको स्वरुपै बिगारिदिन थालेका छन्। ‘खदम खोलामा पाँच मिटरसम्म खाल्डा बनाएर ढुंगा–गिट्टी झिकेको भेटियो,’ ढकालले भने, ‘हेभी मेसिनले जमिनको सतह देखिने गरी खोला उधिनेका रहेछन्।’
बुढी र खदम खोलामा पाँच वटा क्रसर छन । बुढीमा पूर्वाञ्चल, जयश्री र पशुपति क्रसर छन् । कृष्ण क्रसिङ र महादेव मिनरल्स खदम खोलाका हुन्।
खोलैमा सञ्चालित कृष्ण क्रसिङ र महादेव मिनरल्सले धेरैभन्दा धेरै हेभी मेसिन प्रयोग गरेर उत्खनन् गर्ने गरेका छन्। क्रसर उद्योग धेरै रहेका कारण खदम खोलामा हेभी उपकरण सञ्चालनको अनुमति दिइएको छ।
यसैबीच, केराबारी गाविस २,३,५,६,७ र ८ नम्बर वडा भएर बग्ने खदम खोलाबाट सिञ्चित हुने नहरहरू क्षतिग्रस्त भएको, मुहान गहिरो बन्दै गएको भन्दै स्थानीयले जिल्ला विकास समितिलाई ध्यानाकर्षण गराएका छन्। ‘यसक्षेत्रको झन्डै बाह्र सय बिगाहा जग्गा सिञ्चित हुने सात वटा पैनी क्रसर नास पारिदिएका छन्’ क्याम्पस प्रमुख थपलियाले भने, ‘यसैगरी दोहन गर्न दिइरहने हो भने विपत्ति पर्छ भनेर हामीले जिविसलाई सम्झाएका छौं।’ यसरी अत्यधिक उत्खनन् गर्न जिल्ला विकास समिति आफैंले क्रसर उद्योगलाई सहयोग गरिरहेको आरोप उनको छ।
जिजिसका ठेकेदार भीम पौडेलले खोलानाला उत्खनन् सम्बन्धि मापदण्डको परिधिमै रहेर काम गरिरहेको दाबी गरे।
स्थानीय विकास अधिकारी नारायण मैनालीले खोलाको स्वरुप बिग्रिने गरी उत्खनन् नभएको जिकीर गरेका छन्। ‘त्यस्तो मनपरी ढंगले खोलानाला उपयोग भएको भन्ने रिपोर्ट मकहाँ आएको छैन,’ मैनालीले भने, ‘जथाभावी उत्खनन् रहेछ भने हामी हेर्छौं।’ प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले ठेकेदारलाई तुरून्त सचेत गराउने बताए।