आगामी मंसिर १० देखि ११ गतेसम्म काठमाडौंमा हुन गइरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८औं शिखर सम्मेलनका लागि निजी सञ्चार माध्यमका फोटोपत्रकार, टेलिभिजनका क्यामरापर्सनलाई मुख्य आयोजना स्थल राष्ट्रिय सभा गृहमा पहु्ँच नदिने व्यवस्थाप्रति् फोटो पत्रकार महासंघले विरोध जनाएको छ।
फोटो पत्रकारको छाता संगठन पी.जे क्लव नेपालले सञ्चार मन्त्री मिनेन्द्र रिजाल र परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेलाई मंसिर ३ गते भेटेर ध्यानकर्षण समेत गराएको भन्दै फोटो पत्रकारलाई पहुँच नदिए सार्कको तस्वीर बहिस्कार गर्ने चेतावनी दिएको छ।
हालसम्म राज्यको तर्फबाट कुनै सुनवाई नभएको भन्दै विरोधस्वरूप शुक्रबार काठमाडौको बबरमहलमा सार्क प्रेस पास डाउन गरी शान्तिपूर्ण बिरोध गरेको छ। लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता भएको मुलुकमा हुन गइरहेको शिखर सम्मेलनमा फोटो पत्रकारलाई सार्कको उद्घाटन र समापनमा समेत प्रवेश निषेध गर्नु कुनै कोणबाट पनि युक्तिसंगत नभएको क्लबले ठहर गरेको छ।
सरकारको गैरजिम्मेवार कदमको सांकेतिक विरोध गरेको बताउँदै फोटो पत्रकार क्लबका अध्यक्ष प्रकाश माथेमाले सरकारले निर्णयमा पुनर्विचार नगरे आगामी दिनमा शिखर सम्मेलनसँग सम्बन्धित कुनै पनि तस्वीर कभरेज नगर्ने र सरकारी कार्यक्रममा कालो पट्टी बाँधी विरोध जनाउने बताए।
महासचिव विकास कार्कीले सरकारको नियतमै शंका भएको भन्दै लोकतान्त्रिक मुलुकको सरकारले अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको आरोप लगाए।
नेपाल पत्रकार महासंघका सचिव धुव लम्सालले मुलुकमा भएका परिवर्तनको हरेक आन्दोलनमा निजी क्षेत्रका सञ्चार माध्ययमको भूमिका निर्णायक भएको भन्दै तत्काल प्रवेश पासको व्यवस्था गर्न सरकारसँग माग गरे।
निजी सञ्चार माध्यम र फोटो पत्रकारहरुलाई सार्कको समाचार र तस्विर संकलनमा पहूँच नदिनु कुनै पनि अर्थमा स्वतन्त्र प्रेस हिमायती राष्ट्रको झझल्को दिने कार्य नभएको स्मरण गराउँदै प्रेसलाई सहज पहूँचको व्यवस्था मिलाइदिन हुनका लागि क्लबले सरकारसँग माग गरेको छ।