नाम : असीमा तामाङ। उमेर : १४ वर्ष। घर : धनकुटाको हिले आसपास हो भन्ने मात्रै थाहा छ। नेपाली बोलेको अलिअलि बुझ्छिन तर, बोल्न आउँदैन। कसैले सोधे हिन्दी भाषामै जवाफ फर्काउँछिन्।
करिव ५ वर्षको उमेरमै उनलाई भारतको चण्डीगढ पु¥याइएको थियो। तीन वर्ष इटहरीस्थित फूपुको घरमा बसेपछि उनलाई फूपाजुको साथीले दिल्ली पु¥यायो।
कुनै भारतीयको घरमा दुई दिन बसेपछि उनलाई चण्डीगढ पु¥याईयो। जहाँ उनले सरदारको घरमा घरेलु कामदारका रुपमा रहनुपर्ने भयो। आफूलाई सरदारको घरमा छोड्ने व्यक्तिले पैसा लगेर गएको कुरा उनले पछि मात्रै थाहा पाईन्।
करिव दुई वर्ष सरदारको घरमा काम गरिन्। सानै उमेरमा अर्काको घरमा काम गर्दा उनले निकै दुःख पाईन्। कामका साथै उनी माथि कुटपिट समेत हुन थाल्यो। एकातिर कामको बोझ अर्कोतिर कुटाई, बाल मष्तिस्कले थेग्न सकेन।
कुनै एक रात उनको मनमा सरदारको घरबाट भाग्ने सोच आयो। राति सबै सुतेको बेला उनी गेट खोलेर भागिन्। घरबाट भागियो अब जाने कहाँ ? उनी अफ्ठ्यारोमा परिन् ।
‘कहाँ जाने ? कोही चिनेजानेको पनि थिएन’ उनले भनिन्–‘घरबाट निस्केपछि फर्किन मन लागेन। आखिर मेरा लागि त्यो जेल जस्तै थियो।’
हिँड्दा हिँड्दै कुनै ठाउँमा पुगिन्। जहाँ गाडी थिए। मान्छेको चहलपहल थियो। उनका अनुसार सायद, त्यो बसपार्क थियो । त्यही भेटिए भारतीय प्रहरी। जसले उनलाई सोधपुछ पछि उद्दार गरेर अनाथ बालबालिकालाई आश्रय दिँदै आएको होस्टेलसम्म पुर्याई दिए ।
‘भारतीय प्रहरी नभेटिएको भए म कहाँ जान्थेँ? के गर्थे? कति दुःख पाउथेँ? केही थाहा छैन’ उनले भनिन्–‘उनीहरु मेरा लागि भगवान बनेर आए।’
धनगढीस्थित शान्ति पुनःस्थापना गृहमा भेटिएकी उनले आफू भारत पुग्नुमा आफ्ना अभिभावक जिम्मेबार रहेको बताईन। तीन वर्षको उमेरमा उनकी आमा अर्कैसँग बिहे गरेर गइन्। बाबुले अर्को बिहे गरे।
सौतेनी आमाले दुःख दिन थालिन्। बाबुले समेत माया गर्न छोडे। तीन वर्षको उमेरमै उनले दुःखसँग साईनो गाँस्न पुगिन्। बाबुले नै उनलाई इटहरीस्थित फूपूको घरमा पु¥याई दिए ।
आफ्नै जन्म दिने आमाबाबुबाट तिरस्कृत भएकी उनलाई फूपूको घरमा आफ्नो भन्ने भेटिनु सम्भव पनि थिएन। तर, केही दिन रामै्र गरिन् । मिठो मसिनो खान पनि दिईन्। आमाबाबुको काखबाट फालिएकी उनका लागि फूपूको माया धेरै लाग्यो ।
जन्मघरबाटै गाँसिएको दुःखसँगको साईनोले उनलाई छोड्ने कुरै थिएन। फूपूको घरमा समेत उनका दुःखका दिन सुरु भए। मदिरा सेवन गरेर फूपाजुले पिट्न थाले। फूपूको व्यवहारमा पनि परिवर्तन आउन थाल्यो ।
‘फूपाजुले रक्सी खाएर कुटेको याद छ’ उनले भनिन्–‘राति कुटेर घरबाट बाहिर निकाल्दा कति दिन घर बाहिरै बस्नु परेको थियो।’
अहिले उनको सम्झनामा उनीहरुको अनुहार याद छैन। तर, उनले फूपूको छोरीको नाम उर्मिला भएको मात्रै याद रहेको बताईन्।
चण्डीगढस्थित होस्टेलमा बस्दा उनले अध्ययन गर्ने मौका पाईन। हाल उनी कक्षा ६ मा अध्ययन गर्छिन्। उनलाई बेचबिखन र अफ्ठ्यारोमा परेकाहरुको सहयोग गर्दै आएको प्रवासी नेपाली मित्र मञ्चले उद्दार गरेर नेपाल पु¥याएको छ।
मञ्चले उद्दार गरेपछि शान्ति पुर्नस्थापना गृहको जिम्मा लगाएको छ। मञ्च र गृहको सहकार्यमा बेचबिखन र अफ्ठ्यारोमा परेका महिला तथा बालबालिकाहरुको उद्दार भैरहेको छ।
शान्ति पुनःस्थापना गृह कैलालीका कार्यक्रम संयोजक बासु भट्टराईले उद्दार गरेर ल्याईएका बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाईने र आफन्त नभेटिएका तथा जान नचाहनेका लागि वैकल्पिक व्यवस्था गर्ने गरेको बताए।
‘आफन्तसँग जान चाहने र आफन्त भेटिएकालाई जिम्मा लगाउने गरेका छौँ’ उनले भने–‘नभेटिएका र जान नचाहेलाई कुनै व्यवस्था गरेर राख्ने गरेका छौं ।’
भारतको चण्डीगढबाट उद्दार गरेर धनगढी पुगेकी सीमाले समेत आफन्त कहाँ नजाने बताएकी छन्। उनले आफन्तबाट फेरि दुःख पाउने सम्भावना भएकाले कुनै संस्थामा बसेर अध्ययन गर्ने बताएकी छन् ।
‘म आमाबुबा कहाँ जाँदैन किनकी मलाई उनीहरुले फेरि बेच्छन्’ उनले भनिन्–‘म पढ्छु । धेरै पढ्ने इच्छा छ ।’
शान्ति पुर्नस्थापना गृह कैलालीका कार्यक्रम संयोजक भट्टराईले सिमालाई मंगलबार काठमाण्डौं पठाईएको जानकारी दिएका छन्। उनले कुनै एक संस्थाले पढाई दिने व्यवस्था सहित उनलार्ई काठमाण्डौं पठाएको बताए।
(पीडित बालिकाको नाम फेरिएको छ।)