कैलालीको त्रिनगर नाकाहुँदै भारततर्फ चेलिबेटी ओसारपोसर हुने घटनामा कमि आएको छ।
विगत ६ वर्षदेखि सिमा नाकामा चेलिबेटी बेचबिखन रोकथाममा सकृय शान्ति पुर्नस्थापना गृह कैलालीले चालु आर्थिक वर्षमा बेचबिखनको घटना नभएको बताएको छ।
शान्ति पुर्नस्थापना गृह कैलालीका अनुसार आर्थिक वर्ष २०६८/०६९ मा १५, २०६९/०७० मा ३६ र २०७०/०७१ मा ४१ बेचबिखन र उद्दारका घटना भएका थिए। जसमध्ये धेरैजसो घटना बेचबिखनका लागि लैजाने क्रममा पक्राउ परेका थिए।
कार्यक्रम संयोजक बासु भट्टराईले दलालले खुला सिमा नाकाको प्रयोग गरेको हुनसक्ने आशंका गरेका छन्।
उनले विगतका वर्षको तुलनामा त्रिनगर नाकाबाट हुने बेचबिखनका घटना ठप्प भएको बताए।
'साउन यता बेच्न लैजाने गरेको एउटा पनि घटना भएको छैन' उनले भने–'यो अवधिमा बेचिएकाहरुको उद्दार मात्रै भएको छ।'
उनले चालु आर्थिक वर्षको हालसम्म १५ जनालाई भारतका विभिन्न स्थानबाट उद्दार गरेर ल्याएको जानकारी दिएका छन्।
गृहले भारतमा कार्यरत प्रवासी नेपाली मित्र मञ्चसँगको सहकार्यमा बेचिएका युवतीको उद्दार कार्य गर्दै आईरहेको छ। गृहले मञ्चसँगको सहकार्यमा हालसम्म १९ जनाको उद्दार गरेको छ।
संयोजक भट्टराईले १७ जना युवतीको उद्दारका लागि दूतावासमा निवदेन समेत दिएको बताए।
विगत डेढ दशकदेखि चेलिबेटी बेचबिखनको रोकथाममा सकृय रहेको माइती नेपाल कैलालीले समेत घटनामा कमि आएको बताएको छ। माइती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले सन् २०१३ मा बेचबिखन र उद्दारका १ सय १ घटना भएको बताए।
उनले सन् २०१४ को हालसम्म ८५ वटा घटना भएकोमा धेरैजसो उद्दार गरेर ल्याईएका रहेको बताए।
'विगतको तुलनामा बेचबिखनका लैजाने घटनामा कमि आएको छ' उनले भने–'नाका परिवर्तनका साथै बेचबिखन प्रति देखिएको जागरुकताले पनि हुनसक्छ।'
त्यस्तै केआई नेपालकी सिमा इञ्चार्ज जातीमाया तामाङले बेचबिखनका घटना ठप्प भएको बताईन। उनले भनिन्–'दशैं तिहारले पनि हुनसक्छ। हिजोआज त्यस्ता घटना भएका छैनन्।'
केआई नेपालले २०६८ सालदेखि कैलालीको सिमा क्षेत्रमा चेलिबेटी बेचबिखन रोकथामका क्षेत्रमा काम गर्दै आएको छ। कैलालीमा करिव आधा दर्जन संघसंस्थाहरुले चेलिबेटी बेचबिखन रोकथामका क्षेत्रमा काम गर्दै आएका छन्।
यसअघिका वर्षहरुको तथ्यांक हेर्दा सिन्धुपाल्चोक, धादिङ, ललितपुर, उदयपुर, नुवाकोट लगायतका जिल्लाका धेरैजसो युवतीहरुलाई दलालले त्रिनगर नाका हुँदै भारत लैजाने गरेको पाईएको छ।
दलालले युवतीहरुलाई भारतका विभिन्न कोठीमा राखेर माग आए अनुसार खाडी मुलुकमा रोजगारीका नाममा पठाउने गरेको पाईएको छ। युवतीहरुलाई भारत र खाडी मुलुकमा यौन व्यवशायमा लगाउने गरेको पाईएको संस्थाहरुको अध्ययनले देखाएको छ।