काठमाडौँमा हुने १८औँ दक्षिण एसियाली सहयोग सङ्गठन(सार्क)को शिखर सम्मेलनका लागि विभिन्न स्थानमा गरिएका निर्माण कार्यले काठमाडौँ सहरको स्वरुप फेरिएको छ ।
विशेषगरी काठमाडौँ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग, सडक विभाग र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्क राष्ट्रका प्रमुख तथा सम्बन्धित पाहुनाका सवारीका सम्भावित भ्रमणस्थलका सडक मर्मत, त्यस आसपासका क्षेत्रमा रङरोगन र सरसफाइका कार्य अन्तिम चरणमा पु¥याएका छन् । हरियाली निर्माणले उपत्यकाकै सौन्दर्यमा वृद्धि भएको छ ।
सार्कका लागि काठमाडौँ उपत्यकाको शृङ्गारलगायतका कार्य गर्न अर्थमन्त्रालयले रु दुई अर्बको बजेट निकासा गरिसकेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले जानकारी दिए।
काठमाडौँ महानगरपालिकाले सरसफाइ, हरियाली तथा सजावट र केही पूर्वाधार निर्माणका लागि रु १८ करोड विनियोजन गरेको छ ।
महानगरपालिकाले एअरपोर्टदेखि तीनकुने, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी हुँदै सोल्टीमोडसम्मको सडक खण्डमा हरियाली कायम गर्न विभिन्न बिरुवा रोप्ने तथा सम्भव भएका ठाउँमा दुबो ओछ्याउने कार्य गरेको छ ।
त्यसैगरी, खुलामञ्चमा घाँस रोप्ने कार्य भइरहेको छ । भद्रकाली, सहिदढोका, घन्टाघर, शान्ति बाटिका, लैनचोरको सहिदपार्क मर्मत तथा सरसफाइको कार्य हुँदै गरेको महानगरपालिकाका भौतिक निर्माण विभागका प्रमुख सञ्जयराज उपाध्यायले जानकारी दिए।
रानीपोखरीमा विद्युतीय सहयोगबाट पानीको फोहरा फाल्ने म्युजिकल फाउन्टेन यही महिनाभित्र निर्माण गरिने छ । त्यस्तै सम्मेलन सुरु हुन एकसाता अघिदेखि नै सम्बन्धित सडकमा ग्लुमरको प्रयोग गरी सडकका धूलो तानेर सफा गरिने छ ।
सडक विभागले सार्कलाई लक्ष्यित गरी काठमाडौँको करिब ८० किलोमिटर सडक मर्मत तथा सम्भारको काम गरिरहेको छ । त्यसमा ५० किलोमिटर सडकमा नयाँ सतह थप्ने तथा बाँकी ३० किलोमिटरमा रेखाङ्कन (मार्किङ) सुरु गरेको छ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सिनामङ्गलदेखि तीनकुने माइतीघरसम्म सरसफाइ र वृक्षरोपणको कार्य गर्दैछ ।
सार्क राष्ट्रहरुका दूतावास क्षेत्र पर्ने स्थान शीतलनिवास, बालुवाटार, नक्सालमा पनि विशेष सरसफाइ भइरहेको प्राधिकरणले जनाएको छ ।
सहरी विकास तथा भवन निर्माण विभागले सम्मेलनका लागि राष्ट्रियसभा गृह तथा सिंहदरबारको ग्यालरी बैठकको पनि मर्मत सम्भार सुरु गरिसकेको छ । सो कार्यका लागि करिब रु २२ करोड खर्च लाग्ने बताइएको छ । रासस