काँकु–८ सोलुुखुम्बुका तिलकबहादुर राईले विष सेवन गरी आत्महत्या गरेका छन् भने उनका बाबु गमबहादुर राई बेपत्ता भएका छन्।
बुधबार घरमा बाबुछोराबीच झगडा भएपछि बाबु बेपत्ता भएको र साँझ छोराले विष सेवन गरेको प्रहरी निरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
विष सेवन गरेका २९ वर्षीय तिलकलाई तत्कालै इलाका स्वास्थ्य चौकी बासा लगिएकामा उनको त्यही निधन भएको थियो।
छोराको निधन भएपछि बाबुको व्यापक खोजी गरिएको भए पनि कतै भेटिएको छैन। घरमा रहेका बाबु, आमा र श्रीमतीसँग झगडा गरेपछि सबैजना भागेको मौकामा राईले विष सेवन गरेको बताइएको छ।
साँझ श्रीमती घर फर्कंदा विष सेवन गरेको भेटाएपछि स्वास्थ्य चौकी लगिएको र उनको मृत्यु भएपछि बिहीबार खोजी गर्दा आमा चाहिँ गाउँमा भेटिएको भए पनि बाबु अझै बेपत्ता छन्।
सम्भावित सबै स्थानमा खोजी गरिए पनि बाबु गमबहादुरको अवस्था अझै अज्ञात रहेको प्रहरीले जनाएको छ। रासस